शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

सर्वोच्चको आदेशले लोकतन्त्रको रक्षा गरेको छ, संवैधानिक जटिलता फुकाइदिएको छ : कांग्रेस

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न गरेको आदेश सकारात्मक र स्वागतयोग्य भएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसका प्रतिनिधि सभामा प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्रको रक्षा र मुलुकमा उत्पन्न संवैधानिक जटिलटाहरूलाई फुकाएको बताए ।

‘संविधानको धारा ७६ (५) अनुरुप प्रतिनिधि सभाका सदस्य माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा गरेको दाबी अनुरुप प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ,’ खाणले इकागजसँग भने, ‘यो सकारात्मक छ, स्वागतयोग्य छ । यसले लोकतन्त्रको रक्षा गर्नेछ र मुलुकको अगाडि उत्पन्न संवैधानिक जटिलतहरूलाई फुकाएको छ । राजनीतिक रुपमा मुलुक अब अगाडि बढ्छ ।’

संविधानले व्यवस्थापिका, कार्यपालिका न्यायपालिकाको शक्ति सन्तुलनको व्यवस्था गरेको भन्दै खाणले कानुन व्यवस्थापिकाले बनाउने, कार्यान्वयन र पालना कार्यपालिका (मन्त्रिपरिषद्)ले गर्ने र व्याख्या सर्वोच्च अदालतले गर्ने प्रवधान अन्तर्गत शक्ति सन्तुलनलाई स्थापित गरिदिएको बताए । 

त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रास्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला  गरेको बताएका छन् । 'लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम l केबल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा' उनले भनेका छन् ।