मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

आज अन्तर्राष्ट्रिय महिला दिवस : कसरी सुरू भयो विश्वभर मनाउन ?

काठमाडौँ-‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने  मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइँदैछ ।

सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।

नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।

यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको  छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ । हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती छ ।

समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी,  नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ ।

कसरी सुरु भयो दिवस ?
सन १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्‍यालीमार्फत महिला आन्दोलन गरेका थिए । आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

तर, अमेरिकामा मात्रै होइन, यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने भन्दै सुरुमा नारीवादी नेतृ क्लारा जेट्किनले बहस सुरु गरिन् । सन १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यो विषयलाई औपचारिक रुपमा प्रवेश गराइन्, जुन सम्मेलनमा १७ देशका १०० भन्दा बढी महिला नेतृहरूको सहभागिता रहेको थियो । जेट्किनको यो प्रस्तावमा सहभागी सबै राष्ट्रका महिलाहरूले सहमति जनाए ।

सम्मेलनपछि पहिलो पटक सन १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा औपचारिक रुपमा नै मनाउन सुरु गरियाे । क्रमश: अन्य देशले पनि यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन सुरु गरे । यो आ-आफनो देशअनुसार मनाउने चलन क्रमश: बढ्दै गयो । 

सन १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन । सो आन्दोलनले महिला आन्दोलनलाई झनै उचाइमा लगिदियो । सो महिला आन्दोलनको चार दिनपछि रुसका तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो ।

संयुक्त राष्ट्रसंघले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि मात्र बल्ल यसले विश्वभरका लागि आधिकारिक मान्यता पायो र राष्ट्र संघका सबै सदस्यले यसलाई संसारभर मनाउन थाले ।