शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

यमन र जिबुटीमा डुङ्गा दुर्घटना हुँदा १८० जना बेपत्ता

अदिस अबाबा- जिबुटी र यमनमा आप्रवासी बोकेका चार डुङ्गा डुब्दा कम्तिमा एक जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी बेपत्ता भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले शुक्रबार एएफपीलाई जानकारी दिएको छ ।

“हिजो राति जिबुटी र यमनको तटमा चारवटा डुङ्गा डुबेपछि १८० भन्दा बढी आप्रवासी बेपत्ता भएका छन्,” आईओएमले जनाएको छ ।

यमनको तटमा दुईवटा डुङ्गा बेपत्ता भएका छन् । एउटा जहाजमा कम्तिमा ३० जना सवार र अर्कोमा करिब १५० जना सवार रहेको आईओएमका मिसन प्रमुख अब्दुसत्तोर एसोएभले बताए ।

“हामी १८६ जनाको बारेमा कुरा गर्दैछौं, जुन दुर्भाग्यवश समुद्रमा डुबेका हुन सक्छन्,“ उनले एएफपीलाई बताए ।

उनका अनुसार डुङ्गामा सवार अधिकांश इथियोपियाली आप्रवासी थिए । यद्यपि पाँच जना यमनका चालक दलका सदस्य थिए । दुवै डुङ्गामा कम्तीमा ५७ जना महिला सवार थिए ।

“हामी कुनै जीवित व्यक्ति फेला पार्न सक्छौं कि भनेर हेर्न अधिकारीहरूसँग काम गरिरहेका छौं, तर मलाई डर छ कि हामीसँग कुनै पनि जीवित व्यक्ति नहुन सक्छ,” एसोएभले बताए ।

उनले प्राप्त जानकारीका आधारमा जिबुटीको तटमा तेज हावाका कारण अन्य दुई डुङ्गा पल्टिएको जानकारी दिए । 

“एक वा दुई जना आप्रवासीले ज्यान गुमाएका छन्, तर बाँकी सबैलाई उद्धार गरिएको छ,” उनले थप विवरण नदिई एएफपीलाई उल्लेख गरेको छ । 

उहाँले जिबूतीमा रहेका आईओएमका सहकर्मीहरूले उद्धार गरिएकाहरूलाई सहयोग गरिरहेका बताए ।

“दुर्भाग्यवश इथियोपिया र जिबूतीबाट यमन आइपुगेका मानिसहरूको सङ्ख्या घटिरहेको छैन,” एसोएभले बताए ।

उनले यस मार्गबाट यात्रा गर्ने धेरै आप्रवासीहरू इथियोपियाको उत्तरी टिग्रे क्षेत्रबाट आउने बताए, जुन सन् २०२० र सन् २०२२ को बीचमा युद्धले ध्वस्त भएको छ । (एएफपी)