युरो फाइनलः निडर इटालीलाई पन्छाएर वेम्बलीमा इतिहास रच्ने दाउँमा इंग्ल्यान्ड

काठमाडौँ: पछिल्लो ५५ वर्षमा इंग्ल्यान्डले कुनै पनि मुख्य उपाधि जित्न सकेको छैन । यसपटक भने उ इतिहास रच्ने संघारमा छ । तर त्यसका लागि इंग्लिस टोलीले युरो २०२० फाइनलमा इटालीलाई पन्छाउन सक्नुपर्छ । यी दुई टिमबीचको भिडन्त आइतबार मध्यराति वेम्बली रंगशालामा हुँदैछ ।
यस्तोमा इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो टिम इतिहास रच्न तयार रहेको सन्देश दिइसकेका छन् । उनको सन्देशमा वजन पनि छ । किनभने उनको नेतृत्वमा इंग्ल्यान्डले सशक्त प्रदर्शन गरिरहेको छ । अनि इंग्लिस समर्थकहरूले पनि उनकै भरमा सपना देखेको छन् ।
इंग्ल्यान्डले अहिलेसम्म जितेको एउटै मुख्य उपाधि भनेको विश्वकप हो । त्यो पनि सन् १९६६ मा । त्यसपछि इंग्ल्यान्ड विश्वकपमा सेमिफाइनल कट्न सकेको छैन । युरोमा पनि उसको उपलब्धी भनेको सेमिफाइनल नै थियो । तर यसपटक इंग्लिस खेलाडीहरूले कमाल गरे । पहिलो पटक युरो फाइनलमा पुगेर ।
उपाधि भिडन्त हुने वेम्बलीमा ६० हजार दर्शक उपस्थित हुनेछन् । तीमध्ये करिब एक हजार इटालियन हुने अनुमान गरिएको छ । वेम्बली पुग्न नसक्ने इंग्लिस समर्थकहरु टेलिभिजन अगाडि हुनेछन् । सबैले फाइनल हेर्न पाउन भनेर इंग्ल्यान्डमा विद्यालय, व्यापार र अन्य क्षेत्र खुल्ने र बन्द हुने समय परिवर्तन गरिएको छ ।
वास्तवमा भन्ने हो भने इंग्ल्यान्डमा अहिले पर्व आएको छ । रानी एलिाजावेथ द्वित्तीयदेखि प्रधानमन्त्री बोरिस जोनसनसम्मले इंग्लिस टिमलाई शुभकामना दिएका छन् । शुभकामना दिने व्यक्तिहरूको सूचीमा हलिउड कलाकार टम क्रुज पनि छन् ।
लन्डनका सडक इंग्लिस समर्थहरूले भरिएका छन् । यस्तो दृश्यले प्रशिक्षक साउथगेट भावुक देखिएका छन् । नदेखिउन पनि किन, जबकि प्रत्येक दिन सयौँको संख्यामा इंग्लिस समर्थकहरू सेन्ट जर्ज पार्कमा भेला हुन्छन् । र, आफ्नो टिमको पक्षमा नारा लगाउँछन् ।
‘हाम्रो टिमलाई सम्मान दिइएको छ । खेलाडी तथा प्रशिक्षकलाई देशले पहिचान गरेको छ । रानीदेखि प्रधानमन्त्रीले पत्र लेखेका छन् । योभन्दा खुशीको कुरा अरु के हुन सक्छ,’ साउथगेटले भने, ‘हामीले अभ्यास गर्ने सेन्ट जर्ज पार्कमा टाढा-टाढाबाट मानिसहरू आइरहेका छन् । हामीलाई शुभकामना दिइरहेका छन् । हामी उनीहरू सबैका लागि उपाधि उपहार दिन चाहन्छौँ ।’
खासमा साउथगेट प्रशंसाको हकदार हुन् । सन् २०१६ मा जिम्मेवारी सम्हालेपछि उनले इंग्लिस टिममा व्यापक परिवर्तन ल्याएका छन् । उनकै रणनीतिमा खेल्दा इंग्लयान्डले यो युरोमा आफ्नो तागत देखाएको छ । त्यसकै नतिजा हो, नकआउटमा जर्मनी, युक्रेन र डेनमार्कमाथि प्राप्त जित ।
इंग्ल्यान्ड यो अवस्थामा सजिलै आइपुगेको भने होइन । अनि उसले महेनेतको फल चाखिसकेको पनि छैन । गत विश्वकपमा साउथगेटको टिम सेमिफाइनलबाटै घर फर्किएको थियो । त्यसबखत इंग्ल्यान्डलाई निराश बनाउने टिम थियो, क्रोएसिया । यसपटक त्यही क्रोएसियामाथि इंग्ल्यान्डले समूह चरणमा बदला लियो । जे होस विश्वकपको निराशालाई इंग्ल्यान्डले यसपटक भुल्न सक्छ । युरो ट्रफी उचालेर ।
‘विश्वकपमा सेमिफाइनल पुगेका हामी यस पटक युरो उपाधि नजिक छौँ । अब हामीले अन्तिम खेल जित्नैपर्छ,’ कप्तान ह्यारी केनले भनेका छन् । केन र उनका साथीहरू युरो फाइनल पुग्दा युरोपियन फुटबल संघ (युईएफए) माथि आरोप लागेको छ । अन्य टिमको आरोप छ, युईएफएले इंग्ल्यान्ड नै च्याम्पियन बनेको हेर्न चाहेको छ । उनीहरूको असन्तुष्टि इंग्ल्यान्डले प्राय खेल वेम्बलीमा खेल्न पाएकाले हो । हुन पनि इंग्ल्यान्डले आफ्ना सातमध्ये छ खेल वेम्बलीमै खेलेको छ ।
हुन त इंग्ल्यान्डको आलोचना संयुक्त अधिराज्य (यूके)भित्रकै अन्य देशले पनि गर्छन् । फाइनलमा उनीहरूको शुभेच्छा इटालीमाथि हुनेछ । स्कटल्यान्डका अखबारहरूले त प्रष्टैसँग इटालीले जितोस भन्ने लेखेका छन् । स्कटल्यान्डको दी नेशनल नाम गरेको अखबारले लेखेको छ ,‘रोबर्टो मान्सिनी, तिमीमाथि हाम्रो भरोसा छ ।’
हुन त इंग्लिस र यूकेका अन्य टिमका समर्थकहरूबीचको प्रतिद्वन्द्वीता नयाँ होइन । इंग्ल्यान्ड र स्कटल्यान्डका टिमहरूबीचको प्रतिद्वन्द्वीता त विश्वकै सबैभन्दा पुरानो हो । त्यसैले हुनसक्छ समूह चरणको खेलका क्रममा वेम्बलीमा स्कटल्यान्डको राष्ट्रिय गान बज्दा इंग्लिस समर्थकहरूले होहल्ला गरेको । हुन उनीहरूले जर्मन र डेनिस राष्ट्रिय गान बज्दा पनि हल्ला गरे । त्यसकारण साउथगेटले सार्वजनिक आह्वान नै गरेका छन्, इटालीको राष्ट्रिय गान बज्दा होहल्ला नगर्न भनेर ।
तर इटालीका खेलाडीहरूले भने इंग्लिस समर्थकहरूको व्यवहारप्रति खासै चासो दिएका छैनन् । ‘घरेलु टिमका समर्थकले सधैँ होहल्ला गर्छन् । यो नयाँ कुरा होइन । यस्तो विगतमा पनि भएको छ र भविष्यमा पनि हुनेछ । हामी अन्य कुराको वास्ता नगरी खेल जित्ने प्रयासमा हुनेछौँ,’ इटालियन कप्तान जर्जियो किलिनीले भनेका छन् ।
किलिनी सम्मिलित इटालियन टिमलाई जारी युरो कै सबैभन्दा बलियो टिम मानिएको छ । किनभने उसले यसपटक खेल नै त्यस्तै देखाएको छ । इटालीले समूह चरणमा सबै खेल जित्यो । र, एकै गोल पनि खाएन । नकआउटमा पनि इटालीले बलिया बेल्जियम र स्पेनलाई पन्छायो ।
इटाली ३३ खेलमा अपराजित छ । यस्तो सफलता इटालीले मान्सिनीको नेतृत्वमा हासिल गरेको हो । जो सन् २०१८ मा इटालीको प्रशिक्षक बनेका हुन् । रुस विश्वकपमा छनौट नै हुन नसकेको इटालीलाई मान्सिनीले उद्धार गरेका छन् । उसो त इटाली युरो फाइनल पुगेको यो पहिलो पटक होइन । सन् २००२ र २०१२ मा पनि इटालीले फाइनलको यात्रा तय गरेको थियो । तर इटाली सन् २००२ मा फ्रान्ससँग पराजित भयो । अनि सन् २०१२ मा भने स्पेनसँग ।
चार पटकको विश्वकप विजेता इटालीका अगाडि दोस्रो पटक च्याम्पियन बन्ने मौका छ । स्पेनसँग चार गोल खाएको इटालियन टिमको रक्षापंक्ति सम्हालेका किलिनी र लियानार्दो बोनुची अहिले पनि टिमका प्रमुख सदस्य हुन् । जो दोस्रो प्रयासमा युरो च्याम्पियन बन्ने लक्ष्यमा छन् । हुन पनि उनीहरु नयाँ च्याम्पियन बन्न एक कदम मात्रै पछाडि छन् ।
‘मैले साथीहरूलाई धैर्यपूर्वक खेल्नुपर्छ भनेको थिए । हामीले अहिलेसम्म त्यही गरेका छौँ । त्यसकारण हामी सुन्दर मौकाका अगाडि आइपुगेका छौँ । आशा छ हामीले आफ्नो लयलाई फाइनल खेलमा पनि कायम राख्छौँ,’ किलिनीले भने ।एएफपीको सहयोगमा

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया