शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी महाशिवरात्रि पर्व मनाइयो

काठमाडौं - महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी देशभर मनाइएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय कथन रहेको छ ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । त्यस्तै यसैदिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
यसैबीच महाशिवरात्री पर्वका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा लाखौ भक्तजन पुगेका छन् । देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । महाशिवरात्रिका अवसरमा बुधबार बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको थियो ।
महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको छ ।
पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्छ ।

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

प्रतिक्रिया