पशुपतिनाथ मन्दिर ७ महिनापछि खुल्दै
भक्तजनका लागि पुस १ गतेबाट मन्दिर खुला गरिने

काठमाडौँ : गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो ।
पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए । उनका अनुसार भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने छ ।
विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका थिएनन् । सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला हुँदा पनि पशुपतिनाथ मन्दिर खुला नभएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घसंस्थाले पशुपति क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए ।
कोभिड-१९ भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो । यस वर्ष साउनको सोमबारसमेत पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गर्ने गरेका थिए । साउनको सोमबार भक्तजनले पशुपति क्षेत्र परिक्रमा गरेर आस्था प्रकट गरेका थिए ।
इतिहासमै यति लामो अवधि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको वंशावलीलगायत कतै पनि उल्लेख नगरिएको कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डन बताउनुहुन्छ । चैतपछि पशुपतिनाथको नित्यपूजा आरती चलिरहे पनि भक्तजनले विशेष पूजा र दर्शन गर्न भने पाएका थिएनन् ।

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

प्रतिक्रिया