सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

नेपाल अझैँ अलमलमा, भोलिसम्म निर्णय गर्लान् त ?

काठमाडौँ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षधर नेताहरूले नै हस्ताक्षर फिर्ता लिए के गर्ने भन्ने अन्यौलमा परेका छन् । नेपालसहित उनी पक्षधर नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बुझाएका थिए । 

उक्त रिट यतिबेला बहस सकिएर सर्वोच्च अदालतमा फैसला आउने तयारीमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलको नेताले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिएपछि दल मिलाउने प्रक्रिया अघि बढ्ने बताएका छन् । उनको त्यही योजना अनुरुप नै कार्यदलले पनि काम गरेको छ ।

यतिबेला नेपालले हस्ताक्षर फिर्ता नगरे पनि अन्यले हस्ताक्षर फिर्ता गर्ने अवस्था तय भइसकेकाले नेपाल अलमलमा परेका हुन् ।  त्यही अलमलबीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि कोटेश्‍वर आइपुगे । नेपालले हस्ताक्षर फिर्ता नगरेर समस्यामा नपारे आगामी निर्वाचनमा जसरी पनि जिताएर अघि बढाउने बचनसमेत दाहालले दिएको जानकारी निकटस्थहरूको छ । सोही जानकारी कांग्रेस सभापति देउवाले पनि नेपाललाई दिएका छन् । 

दाहाल जता पनि फर्कन सक्ने भए पनि देउवा बचनको पक्का भएकाले नेपाललाई साहस भने आएको छ । यद्यपि उनका सारथीले हस्ताक्षर फिर्ता लिए देउवा प्रधानन्त्री हुन सक्दैनन् । एमाले फुट्ने भन्दा पनि सानो चोइटो चाइटिने मात्र हुनसक्ने आंकलन कार्यदलमा रहेकाहरूको छ। 

यही आंकलनले गर्दा उनीहरूले ओली पक्षलाई दुई घण्टा सिंहदरबारमै छाडेर नेपाललाई मनाउन कोटेश्‍वर पुगेका थिए । कार्यदलको बैठक चलिरहँदा नेपाल र देउवाबीच टेलिफोनमा कुराकानीसमेत भएको थियो । जवकी देउवाकोमा भर्खरै भेटेर गएका दाहालसँगै थिए । यसरी छलफलको तिव्रता बढी रहको भए पनि कार्यदलका सदस्यहरूले आइतबार बधाई दिए हुने बताउन थालेका छन् । 

नेपाल पनि एक्लै बाहिर बस्‍न सक्ने अवस्था नभएकाले मिलेर पार्टीभित्रै संघर्ष गर्ने तयारीमा लाग्‍न उनका सारथीहरूको सुझाव छ ।त्यो सुझावलाई उनले लत्याएमा सारथीले उनलाई छोड्न सक्ने संकेत पनि दिइसकेका छन् । यद्यपि नेपाल भने अझै पनि आफ्नोसहित हस्ताक्षर चल्ने गरि शक्ति बाडफाँडमा जानुपर्ने जनाएका छन् । उनको चित्त दुखाई राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छ ।