बुख्याचा

असारे विकासका बतासे फूलहरू
गोली बनेर फुटिरहेका छन्
समृद्धिका रङ्गीचङ्गी बेलुनहरू
तातो हावा भरिएर उडिरहेका छन् ।
भाषणको फोहरामा
टोपीबाट निस्केका खरायोहरू
खै, कता हराए कता ?
पानी जहाज, रेल, मोनो रेल
रेल झन् पोहोर नै पोखरा आइसक्ने थियो
त्यसपछिको कुस्मा त के टाढा र ?
स्टेसन बनिसक्नु पर्ने
पिटिक्क खोल्ने बित्तिकै
घर–घरमा आउने ग्याँस
गँजडीले धपक्क आगो बालेको चिलिम
मुखबाट निस्केको धुवाँको मुस्लो
त्यससँगै उडेर बिलाएको गफ
या, जादुगरको स्वप्न संसार
पर्खाल नलाग्ने भएर मात्र
हावामा उडिरहेका छन् ।
मेरो देशको सेरोफेरोमा
बेथिति अचाक्ली, चौपट राज
घाटमा पुगेको संविधान
घाटे वैद्य नाडी छामी रहेका छन्
अर्काले ठडाइदिएका बुख्याचाहरू
तिनको भरपर्दा
जनताले तोरीको फूल देखिरहेका छन् ।
प्रतिक्रिया