नेपाल-भारत ऊर्जा सचिव बैठकका यस्ता छन् एजेन्डा (विस्तृतमा)

काठमाडौं : नेपाल-भारत ऊर्जा सचिव स्तरीय बैठक यही मंसिर २५ र २६ गते हुने भएको छ । कोभिड-१९ का कारण हुन नसकेको यो बैठक भर्चुअल हुनेछ । भर्चुअल बैठकका लागि नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले प्रस्ताव गरेका थिए । घिमिरेकाे प्रस्तावलाई स्वीकार गर्दै उनको भारतीय समकक्षी तयार भएका हुन् ।
सचिव घिमिरले पछिल्लोपटक भारतको बैंगलोरमा भएको सचिवस्तरीय (ज्वाइन्ट स्टेरिङ कमिटी) को सातौं बैठकका निर्णय कार्यान्वयनका लागि अनुरोध गरिएको बताए । उनका अनुसार सातौं बैठकले गरेका महत्वपूर्ण निर्णयसम्बन्धी पुनः कुराकानी अघि बढाउन (फलो अप) भर्चुयल बैठकका लागि प्रस्ताव गरिएको थियो ।
बैंगलोर बैठकले नेपालको जलविद्युत् ऊर्जाको व्यापारसम्बन्धी उल्लेखनीय निर्णय गरेको थियो । यसमा नेपाल, बंगलादेश र भारतको त्रिपक्षीय बैठक राखी नेपालको बिजुली भारतको बाटो हुँदै बंगलादेशसम्म निर्यात गर्ने प्रमुख एजेन्डा थियो । ‘भारतले यसमा सहमति जनाइसकेको छ, यसको कार्यान्वयनका लागि पहल गर्न लागिएको हो,’ सचिव घिमिरेले सोमबार इकागजसँग भने, ‘नेपाल र बंगलादेशबीच पनि विद्युत् व्यापारसम्बन्धी समझदारी भइसकेको छ ।’
त्यसैगरी नेपालको जगेडा बिजुली (सरप्लस इनर्जी) भारतको एक्सचेञ्ज बजारमा सहभागी हुन दिन सातौं बैठकमा सहमति जनाइसकेको छ । उक्त सहमति भारतको विद्युत् मन्त्रालयले ‘कन्डक्ट अफ बिजनेस रुल्स’ (कार्यविधि) जारी गरेपछि लागू हुन्छ ।
ऊर्जा सचिव घिमिरले भारतको विद्युत् व्यापारी कम्पनी एनभीभीएनसँग भारतको एक्सचेञ्ज बजारमा बिक्री गर्ने सहमति भइसकेको बताए । ‘अब भारतीय मन्त्रालयले उक्त कार्यविधि लागू गर्ने बित्तिकै हाम्रो बिजुलीको पहुँच भारतीय बजारसम्म हुनेछ ।’
बैठक सुरु सहसचिव स्तरीय (संयुक्त कार्यदल) बाट हुनेछ । सहसचिव स्तरीय बैठकले गरेका निर्णयलाई सचिवस्तरीय बैठकले अनुमोदन गर्ने चलन छ । आठौं बैठकमा चार सय केभीको (न्यू) बुटबल-गोरखपुर अन्तर्देशीय प्रसारण लाइन र न्यू नौतनवा-मनैया (लुम्बिनीतर्फ) १३२ केभी नयाँ लाइन निर्माण पनि प्रमुख एजेन्डा छन् । बुटबल-गोरखपुरमा यसअघि नै सहमति भइसकेको छ । भारतसित सहमति हुनुपर्ने एमसीसीको शर्त थियो ।
बैठकमा अर्को बहुचर्चित एजेन्डा छ— इनर्जी बैकिङ । नेपालमा बिजुली बढी भएका बेला भारतमा पठाउने र यहाँ अभाव भएका बेला उताबाट आपूर्ति गर्ने बन्दोबस्ती इनर्जी बैंकिङ हो । पोखरामा भएको छैटौं बैठकमा इनर्जी बैकिङसम्बन्धी सहमति भएको थियो ।
त्यसैगरी बैठकमा अन्तर्देशीय उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन प्रतिवेदन अद्यावधिक गर्ने अर्को एजेन्डा छ । यसअन्तर्गत इनरुवा (सुनसरी)-न्यू पुर्णिया ४०० केभी र न्यू लम्की (दोदोधारा)-बरेली ४०० केभी प्रसारण लाइन निर्माण सम्बन्धमा भएको अध्ययनको प्रतिवेदनलाई अद्यावधिक गर्ने तयारी भएको छ ।
यसैगरी भारतले टनकपुरमार्फत नेपाललाई दिंदै आएको सात करोड युनिट निःशुल्क बिजुली दिंदा बढी बिजुली गएको र त्यसको हिसाब गर्न नसकिएको गुनासो भारतीय पक्षले राख्दै आएको थियो । नेपालले सात करोड युनिटभन्दा बढी बिजुली तान्यो भने त्यसलाई लगाउने शुल्कको दर अहिलेसम्म तोकिएको छैन । नेपालले धेरै तान्यो भन्ने आरोप भारतले लगाउँदै आएको छ । किनभने नेपालमा टनकपुरबाट आएको बिजुली गणना गर्ने मिटर नै छैन ।
भारतको केन्द्रीय विद्युत् नियमन आयोगले तोकेबमोजिमको भाउ हुनुपर्ने भारतले नेपाललाई भन्दै आएको छ । ‘यसपालिको बैठकमा टनकपुरको बढी तानिएको बिजुली विषयमा पनि छलफल हुनेछ,’ मन्त्रालय स्रोतले भन्यो ।
पूर्वदेखि पश्चिमसम्म सीमापार विद्युत् प्रसारण लाइन विस्तार भएको सन्दर्भमा ग्रीड सिंक्रोनाइजेसन (तादात्म्य मिलाउने) गर्नेबारे पनि बैठकको प्रमुख एजेन्डा रहेको छ । नेपाल र भारतको बिजुली प्रणालीमा मिसाएपछि भारतको आउँदा नेपालको काटिने र नेपालको जाँदा भारतको काटिने समस्याबाट छुटकारा पाउन सिंक्रोनाइजेसन आवश्यक पर्छ । ढल्केबर-मुजफ्फपुर वा अन्य कुनै १३२ केभीको प्रसारण लाइनमा यस्तो व्यवस्था मिलाउन सकिन्छ । यसले गर्दा विद्युत् आपूर्ति सुनिश्चित र गुणस्तरीय हुन्छ ।
बैठकमा अर्को बहुचर्चित एजेन्डा छ— इनर्जी बैकिङ । नेपालमा बिजुली बढी भएका बेला भारतमा पठाउने र यहाँ अभाव भएका बेला उताबाट आपूर्ति गर्ने बन्दोबस्ती इनर्जी बैंकिङ हो । पोखरामा भएको छैटौं बैठकमा इनर्जी बैकिङसम्बन्धी सहमति भएको थियो ।
बेंगलोरमा भएको सातौं बैठकले सीमापार विद्युत् व्यापार निर्देशिका, २०१८ मा इनर्जी बैकिङलाई पनि नीतिगत रुपमा समावेश गर्ने भनिएको थियो । तर भारतले अहिलेसम्म उक्त निर्देशिकामा समावेश नगरेका कारण सहमति भएर पनि कार्यान्वयन हुन सकेको छैन ।
यसैगरी कटैया-कुसाहा दोस्रो सकिर्ट र रक्सौल परवानीपुर १३२ केभी प्रसारण लाइनलाई डबल सर्किटमा स्तरोन्नति गर्नेबारे पनि बैठकमा छलफल हुने इकागजलाई प्राप्त बैठकका एजेन्डामा उल्लेख छ । डबल सर्किट बनाएमा एउटा लाइन अवरुद्ध हुँदा अर्को लाइनबाट सजिलै बिजुली आपूर्ति गर्न सकिन्छ भने र यसबाट २०० मेगावाट बिजुली कारोबार हुन सक्छ ।
परवानीपुरमा भारतीय खण्डमा १५ किलोमिटर प्रसारण लाइन भारतले अहिलेसम्म तानेको छैन । नेपाल खण्डमा भने समस्या छैन । बैठकको नेतृत्व ऊर्जा सचिव घिमिरे र भारतीय विद्युत् मन्त्रालयका सचिव सञ्जीव नन्दन सहायले गर्नेछन् । त्यसैगरी सहसचिव स्तरीय बैठकको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव प्रवीण अर्यालले गर्ने भएक छन् भने उनको भारतीय समकक्षीमा अतिरिक्त सचिव एसकेजी राहते छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया