शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

नेपाली आरोही पाण्डेले गरे दक्षिण अमेरिकी महादेशको उच्च शिखर आरोहण

काठमाडौँ- नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखरको सफल आरोहण गरेका छन् । यही फेब्रुअरी ६ तारिखमा अर्जेन्टिनास्थित माउण्ट अकोन्कागुआको सफलतापूर्वक आरोहण गरेका हुन् । आरोही पाण्डेले अकोन्कागुआको शिखरमा स्थानीय समय अनुसार बिहान ७:५० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएका थिए ।

सातै महादेशका सर्वोच्च शिखरहरुको आरोहण गर्ने अभियान अन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झण्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गरेका थिए । पर्वतारोहणको क्षेत्रमा विशेष मानिने सेभन समिट अभियानमा उनको यो चौथो हिमाल आरोहण हो भने समग्रमा उनको यो ११ औं आरोहण हो । उनी २०२२ देखि यस अभियानमा रहेका छन् ।

यस अभियानमा उनीसँग किर्तिमानी पर्वतारोही चतुर तामाङ्ग पनि रहेका छन् । अन्य मुलुकमा पनि पर्वतारोहणमा सक्रिय रहेका पर्वतारोही तामाङ्गले सातपटक सगरमाथा आरोहण गरिसकेका छन् । आरोही पाण्डेले यसअघि आरोही तामाङ्गसँगै रुसमा रहेको सर्वोच्च युरोपेली हिमाल माउण्ट एलब्रुस चढेका थिए भने पाण्डेले तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जारोको पनि सफल आरोहण गरिसकेका छन् । उनले स्वदेशमै रहेको किलर माउन्टेन भनिने मनास्लु हिमाल र टेक्निकल मानिएको आमादब्लम हिमालको पनि सफल आरोहण गरिसकेका छन् ।

उचाई धेरै नभए पनि यो आरोहण निकै चुनौतीपूर्ण रहेको आरोही पाण्डेले बताए । उक्त क्षेत्रमा छिटो छिटो परिवर्तन भइरहने मौसमका कारण यो आरोहण सगरमाथा चढे जतिकै कठिन महशुश गरेको उनले बताए । पाण्डेले मकालु आउटफिटको ब्राण्डमा हिमाल आरोहण गर्दै आइरहेका छन् ।

संसारमै विशेष झण्डाको रुपमा रहेको त्रिकोणकार नेपाली झण्डा सहित आफु संलग्न युवा अभियान नेपाल स्काउट र रोटरी इन्टरनेशनल समेतका सामाजिक 
संस्थाहरुको झण्डा पनि ती संस्थाहरुको प्रतिनिधित्व गर्दै आफूले फहराउन पाउँदा खुसी लागेको उनले बताए ।

हिमाल आरोहण अभियानकै क्रममा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताएका पाण्डेले सो सम्बन्धमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया पनि गरेको बताए । जलवायु परिवर्तनका कारणले नेपाल सहित जैविक विविधिता युक्त तथा विशिष्ट भौगोलिक अवस्थिति भएका मुलुकले अनपेक्षित क्षति र समस्याहरु व्यहोर्नु परिरहेको उनले बताए ।

जलवायु परिवर्तनका लागि जिम्मेवारी नगन्य रहे पनि यसको असरले गरिब देशहरु गरिबीको दुश्चक्रमा झनैं फँस्ने उनको विचार छ । यसबाट बाहिर निस्कन हामीले हाम्रो जीवन पद्धति बदल्न तयार रहनुपर्ने समेत उनको राय छ । आफ्नो आरोहण भ्रमणले नेपाल र अर्जेन्टिनाको बीच दौत्य सम्बन्धमा टेवा पुग्ने र साहसिक 
पर्यटनको क्षेत्रमा नेपाललाई दक्षिण अमेरिकी महादेशमा थप परिचित गराउने उनको विश्वास छ ।

सेभेन समिट अभियानमा अब उत्तर अमेरिकी महादेशको हिमाल आरोहण गर्ने लक्ष्य रहेको पाण्डेले बताए । संयुक्त राज्य अमेरिकामा रहेको डेनाली हिमालको आरोहण मेरो लक्ष्य हो, पाण्डेले सगर्व सुनाए । सन् २०१८ मा पहिलोपटक सगरमाथा चढेका पाण्डेले क्रमशः अन्य महादेश तथा क्षेत्रका हिमालहरु आरोहण गर्दै नेपालमै आएर सगरमाथामा सेभेन समिट अभियानको समापन गर्ने योजना पनि सुनाए ।