शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

हाइटीका राष्ट्रपति हत्यामा पूर्वसैनिक संलग्‍नता, अमेरिकी र कोलम्बियालीसमेत पक्राउ

काठमाडौँ : हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्यामा विदेशी समूहको संलग्‍नतामा भएको प्रारम्भीक अनुमान हाइटी प्रहरीको छ । हाइटी प्रहरीका प्रमुख लियोन चार्ल्सले राष्ट्रपतिमाथि आक्रमण गर्ने अधिकांश कोलम्बियाका पूर्वसैनिक भएको खुलेको जनाएको अन्तराष्ट्रिय संचार माध्यमले जानकारी दिएको हो ।

आक्रमणकारीको उक्त समूहमा २६ कोलम्बियाली र हाइटियन मूलका २ अमेरिकी रहेका थिए । अहिलेसम्म २ अमेरिकीसहित १७ जनालाई पक्राउ गरेको पनि जनाइएको छ । यद्यपि ८ जना अझै फरार रहेको प्रहरीले जानकारी दिएको छ । बाँकी संदिग्ध राजधानी पोर्ट-अ-प्रिन्समा भएको भिडन्तमा मारिएको पनि प्रहरीले उल्लेख गरेको छ । 

प्रहरीले पत्रकार सम्मेलन गरी केही संदिग्धलाई सार्वजनिक गरेको हो । प्रहरीले कोलम्बियाली राहदानी र अन्य केही प्रमाण पनि सार्वजनिक गरको थियो । राष्ट्रपतिको हत्याको योजना कसले बनायो र केबाट प्रेरित थियो भन्नेबारे अहिलेसम्म प्रहरीले खुलाउन सकेको छैन । ५३ वर्षीय राष्ट्रपति मोइज मुलुकमा ‘तानाशाही’ संस्काररिुद्ध लडिरहेकाले उनलाई निसाना बनाइएको हुनसक्ने दाबी हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले गरेका छन् ।

कोलम्बियाले हाइटीको राष्ट्रपतिको हत्याबारेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ । आक्रमणकारी समूहमा कोलम्बियाका पूर्व सैनिक पनि रहेको खुलेकाले पनि कोलम्बिया सरकारले सहयोग गर्ने बताएको हो । यद्यपि अमेरिकी सरकारले यसविषयमा स्पष्ट पारेको छैन् । हाइटीको राजधानी पोर्ट-अ-प्रिन्सस्थित राष्ट्रपति निवासमा  बुधबार बिहान करिब ११ बजे अज्ञात हतियारधारीले गरेको आक्रमण गरेका थिए । त्यही आक्रमणमा मोइजको ज्यान गएको हो ।

हाइटीका राजदूत बोचित एडमन्डले प्रथम महिलाको अवस्था गम्भीर रहेको जनाउँदै उपचारका लागि अमेरिकाको फ्लोरिडा लगिएको छ । पछिल्लो समय हाइटमा राजनीतिक अस्थिरता बढ्दै गएको थियो । मोइज भ्रष्टचारको अभियोगका कारण मोइजको लोकप्रियता ओरालो लाग्दै पनि थियो । यद्यपि उनी प्रभावकारी नेता थिए ।