विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोन वार्ता

काठमाडौँ- हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन वार्ता गरेकी छन् ।
हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा राणाले गए राति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् ।
त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ ।
हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि टेलीफोनवार्ता गरी जोशीको मुक्तिका निम्ति सहयोग गर्न आग्रह गरेकी थिइन् ।
इजरायल सरकार र हमासबीच युद्धविरामको प्रयास भएदेखि नै मन्त्री डा देउवाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन् ।
केही साताअघि मन्त्री डा देउवाले इजरायलका विदेशमन्त्रीसँग पनि यसै विषयमा टेलिफोन वार्ता गरेकी थिइन् । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा जोशीको मुक्तिका निम्ति आग्रह गरेका थिए ।
जोशीको रिहाइका लागि सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास गरिरहेकी छन् ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया