आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

जसले कोभिडमा पनि कमाए १० खर्ब डलर

कोभिड-१९ को महामारीले विश्व आतंकित बनाइरहँदा अमेरिकी अर्बपतीहरु भने सुरक्षित बने । महामारीले नछोएका उनीहरुलाई महामारी अवसर बन्यो । यसैबीच उनीहरुले झन्डै १० खर्ब डलर कमाएका छन् । ईन्स्टिच्यूट अफ पोलिसी स्टडिजले गरेको अध्ययनले मार्च यता अमेरिकी धनाढ्यहरुको धन ३४ प्रतिशतले बढेको देखाएको छ ।

सन् २००८ को विश्व आर्थिक मन्दीमा फोर्ब्सका चार सय धनाढ्य व्यक्तिलाई आफ्नो नोक्सानी भरपाई गर्न तीन वर्ष लागेको थियो । अध्ययनले ६ सय ५० जना त्यस्ता अमेरिकीको सूची तयार पारेको छ, जसले महामारीको समयमा पनि आफ्नो सम्पत्ती बढाउन सफल भएका छन् । करिब ७० लाख अमेरिकी ऋणको साँवाब्याज भुक्तानी गर्न नसक्दा उठीबास लाग्ने स्थितीमा पुगेका थिए ।

६५० मध्ये ४७ जना नवधनाढ्य छन् । मार्च १७ र नोभेम्बर २४ मा अमेजन कम्पनीका मालिक जेफ बेजोसले झन्ड ७० अर्ब डलरको धन बढाएका छन् । उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भए । टेस्ला र स्पेस एक्सका सीईओ एलन मस्कले यसै अवधिमा २४ अर्ब डलरबाट १२६ अर्ब डलर पुर्‍याएका छन् । उनी विश्वका दोस्रो धनी व्यक्ति बने ।

फेसबुकका सीईओ मार्क जुकरवर्गले यो अवधिमा झन्डै दुई गुणा धन बढाएका छन् । ५४ अर्ब डलरको धनलाई बढाएर जुकरवर्गले १०१ अर्ब पुर्‍याएका छन् । वारेन बफेटको धन ९८ अर्ब डलरबाट ११९ अर्ब डलर पुगेको छ । वारेन बफेटको ६७ अर्ब डलरबाट ८८ अर्ब डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएको छ । (टाइम्स अफ इन्डियाबाट)