पत्रकारिताको उपयुक्त वातावरण निर्माण गर्न नेपाल पत्रकार महासङ्घको माग

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले संविधान र कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी पत्रकारिता गर्न पाउने उपयुक्त वातावरण राज्यले निर्माण गर्नुपर्ने माग गरेको छ ।
सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्कीको घटनाका सन्दर्भमा महासङ्घले गठन गरेको ‘मिडिया मिसन’ ले तयार पारेको प्रतिवेदन आज सार्वजनिक गर्दै पत्रकार दाहाललगायतका धरानका पत्रकारमाथि हुने धाकधम्की र आक्रमणका कारण विस्थापित हुनेसम्मको अवस्था आएको जनाएको छ ।
प्रतिवेदनमा भनिएको छ, “यसले दीर्घकालमा समाजलाई नै अहित गर्ने भएकाले नागरिकस्तरमा पत्रकारको सुरक्षा, पत्रकारिताको महत्व र सूचनाको अधिकार विषयमा सार्वजनिक रूपमा बहस गर्न आवश्यक छ ।”
महासङ्घले सुनसरीको धरान उपमहानगरपालिकाका नगरप्रमुखबाटै सामाजिक सञ्जालमार्फत आतङ्क सिर्जना गर्ने र प्रमुखका समर्थकले पीडित र परिवारलाई थप पीडा दिने गरी सामाजिक सञ्जालमा लेख्ने, भिडियो बनाउने, व्यक्तिगत मोबाइल नम्बर, म्यासेन्जरमा धम्कीपूर्ण भाषा प्रयोग गरेर निरन्तर गाली गरिरहेकाले उक्त कार्यलाई तत्काल नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
“स्थानीय सरकार प्रमुखले नेपालको संविधानमा भएका व्यवस्था नमान्ने, आफूलाई कानुनमाथि राखेर कानुन विपरीत कार्य गर्नु वाञ्छनीय होइन, आफ्नो लागि आफैँ कानुन बनाउने अभिव्यक्ति दिने गरेका नगरप्रमुखमा नेपालको प्रचलित कानुन र त्यसको अभ्यासका बारेमा जानकारी अभाव वा दम्भ देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।
पत्रकारले आफू सुरक्षित रहेको महसुस गरेको अवस्थामा मात्र निर्भीक भएर पत्रकारिता गर्ने वा विकृति विरुद्ध कलम चलाउने वातावरण बन्ने महासङ्घले जनाएको छ । -रासस

तीनकुनेमा तीन वटा सवारीसाधन जुध्यो : एक जनाको मृत्यु, तीन घाइते

नियमित जेरी खाए पाँच रोगबाट पाउन सकिनेछ मुक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

प्रतिक्रिया