'मुक्कुम्लुङ'का अभियन्ता भन्छन्: विकासका अवधारणा परिवर्तन गरौँ

केही दिनयता ताप्लेजुङ्मा मुक्कुम्लुङ संरक्षणको विषयमा आन्दोलन चलिरहेको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यी विषयमा बहस भइरहँदा बौद्धिक जगत तथा कलाक्षेत्रका व्यक्तिहरूले हाम्रा विकासका अवधारणा नै गलत भएको बताएका छन् ।
शुक्रबार मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मुक्कुम्लुङः चोःत्–लुङ अफ याक्थुङ’ को सन्दर्भमा आयोजित ‘मुक्कुम्लुङ मन्थन’ का वक्ताहरूले राज्यको विकासका अवधारणा परिवर्तन गर्न सुझाव दिएका छन् । 'हामीले हाम्रो सामाजिक सांस्कृतिक पुँजीलाई समाज निर्माणमा प्रयोग गर्न सकेका छैनौँ', समाजशास्त्री डा मीना पौडेलले भनिन्,'नेपालको माटो, सामाजिक विविधता सुहाउँदो र समतामूलक समाज निर्माणका लागि योजना नै बन्दैन । विकासको दृष्टिकोण केवलकार, भ्यूटावर बन्नु, खोलाको गिट्टी बालुवा ठेक्का लगाउनु मात्रै होइन ।'
उनले मुक्कुम्लुङको आन्दोलनलाई जातीय बिल्ला भिराएर लिम्बूहरूको पहिचान र आन्दोलनसँग मात्र जोडेर हेर्न नहुने बताइन्। 'सदियौँदेखि विभिन्न स्थानमा आदिवासी जनजाति समुदायमाथी दमन भइरहेको छ । ती सबैलाई एकत्रित गरेर आन्दोलन गर्न सकेमात्र सशक्त हुन्छ', डा पौडेलले भनिन्,'यस्तो आन्दोलन अहिले हाम्रो देशमा मात्र होइन संसारभर चलिरहेको छ ।'
अर्का वक्ता तथा लेखक युग पाठकले नेपाललाई नेपाल जस्तो बनाउनेभन्दा स्वीजरल्याण्ड, सिङ्गापुर जस्तो बनाउनेबाट विकासको अवधारणाबाटै गलत भाष्य निर्माण भएको बताए।
'यहाँ विभिन्न मुलुकबाट परियोजनाका नाममा सके आर्थिक र नसके दार्शनिक लगानी गरेर भए पनि विकासको धारणालाई गलत ढङ्गबाट भाष्य निर्माण गरिएको छ', उनले भने,'केवलकार नबनाउँदा जङ्गली हुने र बनाउँदा भोलिपल्टै अमेरिकी जस्तो हुने भाष्य बनाइएको छ, यो सरासर गलत छ ।' विकासमा पर्यावरणको मुद्दा उठेकै धेरै समय नभएकाले मुक्कुम्लुङजस्ता आन्दोलन अब राज्यले दमन गर्दैमा नरोकिने बताए।
चलचित्र निर्देशक नवीन सुब्बाले मुक्कुम्लुङ एउटा समुदायको मात्र सांस्कृतिक धरोहर नभइ सबैले संरक्षण गर्नुपर्ने आस्थाको केन्द्र रहेको बताए। लिम्बूहरूको मुन्धुममै मुक्कुम्लुङलाई शीरको रूपमा पूजिने भएकाले लिम्बू समुदायले सांस्कृतिक र पर्यावरणीय रूपमा संरक्षणका लागि आन्दोलन गरेको उनले स्पष्ट पारे।
'कुनै एक धर्म वा सम्प्रदायमा जे गरिनु हुँदैन भनेको छ । त्यही गर भनेर कसैले भन्यो भने के हुन्छ', उनले भने,'मुक्कुम्लुङमा अहिले भएको त्यही हो । यो आदिवासी समुदायको भूमिमाथिको अधिकारको विषय पनि भएकाले अहिले आन्दोलन चर्किनु स्वाभाविक हो ।'
उनले कलाकारहरूले कला र संस्कृतिको माध्यमबाट सामाजिक, सांस्कृतिक चेतना अभिवृद्धि र प्रतिरोधका लागि सचेत गराउनुपर्नेमा जोड दिए।

तीनकुनेमा तीन वटा सवारीसाधन जुध्यो : एक जनाको मृत्यु, तीन घाइते

नियमित जेरी खाए पाँच रोगबाट पाउन सकिनेछ मुक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

प्रतिक्रिया