१५ वर्षमा १५ सय गीत गाएपछि दीपक लिम्बूको सुर

दीपक लिम्बूबारे सबैले थाहा पाएको कुरा हो, लिम्बू सांगीतिक प्रतियोगिता नेपाली ताराका विजेता हुन् । तर, धेरैलाई थाहा छैन, लिम्बूले नेपाली तारा बन्नुअघि यस्तै प्रकृतिका दुई प्रतियोगिता पनि जितेका थिए । १५ वर्ष लामो सांगीतिक करिअरमा १५ सय हाराहारी नै गीतमा आवाज दिएको दाबी गर्ने दीपकले इकागजसँग आफ्नो सांगीतिक यात्राका मुख्य-मुख्य घुम्तीबारे चर्चा गरे ।
१७ वर्षमा ‘ब्राइटर तिम्रो सुर मेरो गीत’ विजेता
२०६२ मा ‘नेपाली तारा’को विजेता बन्नुभन्दा पाँच वर्षअघि नै उनी ठूलो सांगीतिक प्रतियोगिताको विजेता बनेका थिए । त्यो प्रतियोगिता थियो, ‘ब्राइटर तिम्रो सुर मेरो गीत’ । सुनसरीको प्रकाशपुर जन्मघर भएका दीपक उसबेला धरानमा बसेर पढ्थे । औपचारिक पढाइसँगै उसबेला उनले धरानकै ‘संगीत साधना’मा गायनको कक्षा पनि लिने गरेका थिए । यही बेला उनले ‘ब्राइटर तिम्रो सुर मेरो गीत’मा भाग लिए ।
‘नेपाल टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम देशका विभिन्न सहरमा हुन्थ्यो । पूर्वाञ्चल संस्करण गर्ने भनेर कार्यक्रम धरान आएको रैछ । यहीँ मैले भाग लिएँ,’ उनले भने, ‘धरानको सैनिक भवनमा भएको फाइनलमा विजेता बनेको थिएँ ।’ दीपकका अनुसार ‘ब्राइटर तिम्रो सुर मेरो गीत’को निर्णायकमा शान्तिराम राई, पारस मुकारुङ र बालकृष्ण कार्की थिए भने कार्यक्रम सञ्चालन गरेका थिए, नवराज लम्सालले । उनले नारायण गोपालको ‘जीवनदेखि धेरै’ बोलको गीत गाएर विजेता बन्ने सिलसिला सुरु गरेका थिए ।
‘हाम्रो समयको यो ठूलै प्रतियोगिता थियो । विराटनगर, झापा, सुनसरी सबैतिरका प्रतिस्पर्धी थिए । चार राउन्ड गरेर विजेता छानिन्थ्यो । तर, हाम्रो पालामा रेकर्डिङ त सबै भागको भयो तर प्रसारण चैँ पहिलो भाग मात्र भयो । मैले जितेको उही प्रतियोगी र नेपाल टेलिभिजनको मान्छेलाई मात्र थाहा भयो,’ दीपक सम्झन्छन् । दीपक पहिलो हुँदा यो प्रतियोगितामा कुशल थलङ दोस्रो भएका थिए । कुशलले पनि थुप्रै गीत गाएका छन् ।
दीपकले यो प्रतियोगितामा विजेता बनेबापत ब्राइटरको मञ्जन-ब्रस र पाँच हजार नगद पाएका थिए । यही पाँच हजारले उनले जीवनको पहिलो गीत रेकर्ड गरे । मन्जन-ब्रसले चाहिँ ? दाँत चम्काए । उसो त स्वर चम्किलो दाँतबाट निस्कने होइन तर ब्रस स्वर साधना अर्थात् रियाजको प्रतीक भने अवश्य हो ।
तिम्रो सुर मेरो गीतबाट पाएको ब्राइटर मन्जन-ब्रसले दाँत चम्काए अनि पाँच हजार रुपैयाँले चाहिँ पहिलो गीत रेकर्ड गराएर स्वर चम्काए ।
यही प्रतियोगिताकै दौरान निर्णायक रहेका पारस मुकारुङ दीपकको स्वर देखेर दंग परे । अझ विजेता नै बनेपछि त उनले दीपकलाई गीत रेकर्डिङका लागि काठमाडौँ निम्त्याए । क्षेत्रप्रताप अधिकारीको रचना लिएर मुकारुङले गीत कम्पोज गरे । ‘ज्यान वारि मन खोला पारि’ बोलको यो गीत पार्वती राई र उनले पालैसँग गाए । तर, यो गीतले दीपक लिम्बूलाई खासै फाइदा गरेन ।
यसको एक वर्षपछि दीपकले फेरि अर्को प्रतियोगिता जिते । प्रतियोगिता थियो, ‘प्रथम पूर्वाञ्चल खुला आधुनिक गीत प्रतियोगिता’ । पूर्वाञ्चलका प्रतिभा लक्षित यो प्रतियोगितामा पनि दीपक नै पहिलो भए । ज्ञानुवाकर पौडेल र वासुदेव मुनाल निर्णायक रहेको यो प्रतियोगितामा सञ्जय तुम्रुक दोस्रो भएका थिए ।
जान अन्तिम, आउन प्रथम
दीपक लिम्बूको परिचय बनेको ‘नेपाली तारा’को भने आफ्नै कथा छ । उनी यो प्रतियोगिताको अन्तिम दिन मात्र यसको अडिसन दिन पुगेका थिए । अन्तिममा पुगे पनि दीपक पहिलो भएर निस्के । साना-ठूला प्रतियोगिता जितेपछि दीपक एल्बम निकाल्ने दौडधुपमा थिए । यसका लागि धरान-काठमाडौँ गरिरहन्थे । यताउता गर्दागर्दै उनले पूर्वतिरका अडिसनबारे चालै पाएनन् । एल्बमकै गीत रेकर्ड गर्न उनले चाल पाए, नेपाली ताराको अडिसनको समय नै सकिएछ । थकथकी मानिरहँदा उनले थाहा पाए, दुई दिन थपिएको छ । उनी अन्तिम दिन कुपन्डोलमा अडिसन दिन गए । त्यहाँ पनि नारायण गोपालकै गीतको सहारा लिए । ‘आज भोलि हरेक साँझ...’ गाएर दीपक जंगमलगायतका निर्णायकलाई प्रभावित गरे । यसपछिको उनको यात्राबारे हर कोही जानकार छन् ।
दीपकलाई त्यही भएर मन पराको...
‘नेपाली तारा’ बनेपछि दीपकको सांगीतिक यात्राको एउटा कोर्स पूरा भयो तर ‘नेपाली तारा’ जितेबापत पाएको एल्बमले भने उनको करिअरलाई भने जस्तो गति दिन सकेन । चलनचल्तीका भाषामा भन्नुपर्दा ‘नेपाली तारा’ नामकै यो एल्बम फ्लप भएको मान्छन्, दीपक । यही बेला पाएको एउटा गीतले पाश्र्व गायनमा उनको स्वर्णीम युग सुरु भयो । त्यो गीत थियो, ‘त्यही भएर मन पराको ।’ महेश खड्काको संगीत रहेको ‘हिम्मत’ फिल्मको यो गीतले दीपकलाई नेपाली सिनेमाको व्यस्त पाश्र्वगायक बनायो ।
दीपकका अनुसार उनी यो गीतको पहिलो रोजाइ भने थिएनन् । निर्माण टिमले जति बेला यो गीत तयार भयो, त्यतिबेला इन्डियन आइडल विजेता अभीजित सावन्तलाई यो गीत गाउन लाउने निर्णय गरेको थियो । तर, त्यसको चाँजोपाँजो मिलाउने तरखर गरिरहँदा नै नेपालमा नेपाली ताराले हाइप लिन थालेको थियो । पछि दीपक विजेता बनेपछि उनले यो मौका पाए । यसका संगीतकार महेश खड्कासँगको छोटो संगतले पनि सायद निर्माण टिमलाई यो निर्णय लिन सजिलो बनायो ।
दीपकले पहिलो गीतमा ब्रेक दिने महेश खड्कालाई नेपाली ताराकै सिलसिलामा भेटेका थिए । प्रतिस्पर्धाको दौरानमा फिल्मी गीतको राउन्डमा उनले महेशको संगीत रहेको गीत छानेका थिए । यही गीत अभ्यास गर्ने क्रममा दीपक र महेशको चिनजान भएको थियो ।
‘संगीतकार आफैँ गीत पनि गाउन थाल्नुभएको छ । मेरो आवाज सुहाउने हिरो पनि रिटायर्ड हुन थाल्नुभयो नि,’ दीपकले बताए ।
‘मैले महेश दाइकै संगीत रहेको ‘माया बसेछ’ फिल्मको ‘आज मन उडेर भाग्छ’ गाउनलाई छानेको थिएँ । पछि कसरी गाउने भनेर उहाँसँग अभ्यास पनि गरेको थिएँ । यसैले सायद दाइलाई मेरो रेन्जबारे थाहा थियो । यसरी यो गीत गाउन उहाँहरूले सम्झनु भयो,’ दीपकले सम्झिए । तर, यही गीतले पाश्र्व गायनमा दीपकलाई जमायो । यसपछि उनले ‘नाइँ नभन्नू ल’, ‘कसले चोर्यो मेरो मन’, ‘सिम्पल सिम्पल कान्छी’, ‘मागेर पाउने भए म’ जस्ता थुप्रै चर्चित गीतमा आवाज दिए । दीपक ३ सयभन्दा बढी नेपाली चलचित्रमा आफूले गाएको र ३ सयकै हाराहारीमा यस्ता गीत रहेको बताउँछन् । तर, पछिल्लो समय भने दीपक लिम्बू विरलै हिरोका लागि गाउँदै गरेको भेटिन्छन् । उनले ट्रेन्ड चेन्ज भएको र आफ्नो पुस्ताका संगीतकार सिर्जनामा सक्रिय नभएकाले पनि आफू फिल्मी गायनबाट टाढा रहेको बताए ।
‘संगीतकार आफैँ गीत पनि गाउन थाल्नुभएको छ । भएन, मेरो आवाज सुहाउने हिरो पनि रिटायर्ड हुन थाल्नुभयो नि । अब समकालीन गीतमा फोकस छु । त्यसैमा निरन्तरता रहन्छ,’ दीपकले बताए । ‘यहाँ देशको छ चिन्ता...’ गाएका दीपक संगीतकार नै गायक-गीतकार हुने ट्रेन्ड बढेको प्रति ‘यहाँ संगीतको छ चिन्ता’ शैलीमा अलिअलि असन्तुष्टि पनि पोख्छन् ।
ब्राइटर, तिम्रो सुर, मेरो गीतको मञ्चमा (कालो सर्ट) दीपक लिम्बू
‘उपहार’को आश
दीपक लिम्बूका शुभचिन्तकको गुनासो छ, दीपक संगीतबाट हराए । दीपकको जवाफ छ, ‘हराएको हैन । तपाईंले खोज्न छाड्नुभएको हो ।’ दीपकले जे जवाफ दिए पनि समकालीन संगीतमा उनको उपस्थिति पातलो भएको छ । उनले पछिल्लो समय सार्वजनिक गरेका गीत स्रोताको मनमा बसेका छैनन् । दीपक यो सबै गुनासो आलोकश्रीको संगीतमा दसैँ छेक आउन लागेको ‘उपहार ४’मार्फत सम्बोधन गर्ने तयारीमा छन् ।
‘उपहार’ उदितनारायण झा ‘लिगेसी’ बोकेको फिल्म हो । बलिउडमा नामी बनेपछि उनले नेपालमा पहिलोपल्ट एकल एल्बममा आवाज दिएका थिए । यसपछिका शृंखलामा पनि नेपालका चर्चित कलाकारले यो एल्बममा आवाज दिएका छन् । यसको चौथो भाग भने दीपकको एकल स्वरमा आउन लागेको हो । ‘आलोक दाइ र मैले एकदमै मेहनत गरेका छौँ । दसैँतिर यो एल्बम सार्वजनिक गर्ने तयारी छ । यो एल्बमले मेरा तमाम शुभचिन्तकलाई मप्रतिको चिन्ताप्रति आश्वस्त बनाउँछ भन्ने विश्वास छ,’ दीपकले इकागजसँगको कुराकानीको बिट मार्दै भने ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया