शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सरकारलाई प्रभावकारी ढंगले अघि बढाउन कांग्रेस सांसदहरूको सुझाव

फाइल फाेटाे

काठमाडौं - नेपाली कांग्रेसका संसदहरूले सरकारलाई प्रभावकारी ढंगले अघि बढाउन सुझाव दिएका छन् । 

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै सांसदहरुले एमालेसँग भएको सहमतिअनुसार सरकारलाई प्रभावकारी ढंगले अघि बढाउन सुझाव दिएका हुन् । 

बैठकमा संसदहरूले अध्यादेश, संसदका कामकारबाही, समसामयिक रुपमा गम्भीरतापूर्वक धारणा राखेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । संसदहरूले बोल्ने क्रम जारी रहेको र माघ १८ गते बस्ने बैठकमा बाँकी संसदहरूले धारणा राखेर जवाफ दिएपछि बैठक सकिने उनले बताए । 

घिमिरेले सरकार परिवर्तनको कुरा कसैले नगरेको र सरकार ढल्ने कुरामा कुनै सत्यता नरहेको उल्लेख गरे । सात बुँदे सम्झौतालाई कार्यान्वयन गरेर सरकार पूरा अवधि चल्ने उनको भनाइ छ । 

घिमिरेले सहकारी पीडितहरूको पैसा राज्यले परिपूरण गर्न गाह्रो रहेको र राज्य सक्षम नरहेकाले जसले अपचलन गरेको छ, त्यसैबाट भराएर फिर्ता गराउनुपर्छ भन्नेमा जोड रहेको धारणा राखे ।