‘ट्राफिक सचेतनाले सडक सुरक्षामा सुधार ल्याउने’

ललितपुर - ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक सचेतनाले यात्रीको जीवनरक्षा र सडक सुरक्षामा अर्थपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको सहकार्यमा ललितपुर महानगरपालिकाले आज जावलाखेलमा आयोजना गरेको साप्ताहिक ट्राफिक सचेतनाको सुभारम्भ कार्यक्रममा उनले यात्रुको सुरक्षाका लागि ललितपुरका सडकमा जडान गरिएका ‘स्मार्ट र इन्टेलिजेन्ट’ ट्राफिक लाइट तीन सय ६५ दिन सञ्चालन हुने जानकारी गराउँदै विशिष्ट व्यक्तिको आगमन भन्दैमा जिल्लामा ट्राफिक नियम उल्लंघन गर्न नपाइने बताए ।
“नियम उल्लंघन गर्नेको विवरण प्रविधि (सिस्टम)ले देखाउँछ, जो सुकैले नियम उल्लंघन गरेमा सिस्टमले विवरण संकलन गरिरहेको हुन्छ, सोहीअनुसार हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ”, प्रमुख महर्जनले भने ।
उनले अहिले कुपन्डोलबाट जावलाखेलसम्म स्मार्ट र इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेर व्यवस्थापन गरिएको जनाउँदै आगामी वर्ष पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्म, सातदोबाटोबाट हरिसिद्धिसम्म र जावलाखेलबाट एकान्तकुना हुँदै भैँसेपाटीसम्मको सडकमा जडान गरेर व्यवस्थापन गरिने उल्लेख गरे ।
“धेरैले ज्यान गुमाउनुपरेको स्थान कुसुन्तीमा ‘लिप्ट’सहितको अपाङ्गतामैत्री ‘ओभरहेड ब्रिज’ बनाउने काम भइरहेको छ, सम्पन्न भएपछि अपाङ्गता भएकाहरूले पनि सहजै सडक पार गर्न सक्नुहुनेछ । डरलाग्दो र भयावह दुर्घटनाको अवस्था देखिएको पाटन अस्पताल अगाडिको सडकमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने तयारी गरिरहेका छौँ, यसलाई छिट्टै पूर्णता दिनेछौँ”, प्रमुख महर्जनले भने ।
उनले ललितपुरलाई बस्न योग्य सहरका रूपमा विस्तार गर्दै नागरिकको दैनिकी सहज बनाउने गरी विकास गर्ने भन्दै हरेक साता नयाँ र राम्रो काम गरेर नागरवासीलाई सेवा प्रवाहमा सहजता दिने प्रतिबद्धता व्यक्त गरे । उनले एक सातासम्म सञ्चालन हुने ट्राफिक सचेतनाले जनतामा ट्राफिक नियमसम्बन्धी जानकारी प्रदान गर्ने विश्वास व्यक्त गरे ।
जावलाखेलस्थित प्राङ्गणमा महानगरप्रमुख महर्जनले ट्राफिक सन्देशमूलक ‘प्लेकार्ड’ देखाउँदै ट्राफिक नियमको पालनाबारे यात्रु, सवारीचालक र पैदलयात्रुलाई सचेतना दिने उद्देश्यले सुरु गरिएको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरे ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले आमनागरिकको दैनिकीलाई व्यवस्थापन गर्न नसक्दा समस्या भई यात्रामा अहजता सृजना गर्ने भन्दै ट्राफिक सचेतनाले जोखिम घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया