महाराष्ट्र रेल दुर्घटना : ११ मृतकमध्ये तीन नेपाली
काठमाडौँ- बुधबार रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको छ । यात्रुहरू रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
मृत्यु हुनेमा तीन जना नेपाली पनि रहेका छन् । ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ । उनीहरूको ठेगाना भने खुल्न सकेको छैन ।
यो घटना पश्चिमी महाराष्ट्र राज्यमा भएको हो । त्यहाँ भारतको जीर्ण रेल नेटवर्कमा यस्ता दुर्घटनाहरू हुने गरेका छन् । यो रेल नेटवर्कले दैनिक लाखौँ यात्रुको यात्रा गराउँछ ।
देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भने, “मानिसहरूलाई रेलले किचेको छ । ११ जनाको मृत्यु भएको छ र करिब पाँच जनाको उपचार भइरहेको छ ।”
आगलागीको अलार्म सत्य थियो वा झुटो भन्ने तत्काल स्पष्ट भएको छैन ।
भारतीय रेलवेका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय मिडियाले कसैले मुम्बई जाने रेलमा ‘अलार्म चेन’ तानेको र त्यसपछि ‘केही यात्रुहरू रेलबाट ओर्लिएको’ बताएका छन् ।
“त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको अर्को रेलले उनीहरूलाई किचेको हो”, प्रवक्ताले भने ।
भारतका गृहमन्त्री अमित शाहले ‘यस दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति गहिरो समवेदना’ व्यक्त गरे ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसले यो ‘दुःखद घटना’ ‘अत्यन्त विचलित पार्ने’ भएको बताए । एक्समा उनले लेखेका छन्, “यस दुःखद जनधनको क्षतिप्रति अत्यन्त दुःखी छु ।”
भारतले अर्थतन्त्र र कनेक्टिभिटी बढाउन ३० अर्ब डलरको रेल पूर्वाधार आधुनिकीकरण सुरु गरेको छ । तर विश्लेषकहरूका अनुसार दुर्घटनाको सङ्ख्या समयको साथ घट्दै जाँदा भारतको पुरानो रेल प्रणालीले अझै धेरै लामो यात्रा गर्न बाँकी छ ।
सरकारी तथ्याङ्कअनुसार सन् २०१७ देखि २०२१ सम्म वार्षिक औसत २० हजार मानिसको रेल दुर्घटनामा मृत्यु भएको छ ।
सन् २०२३ मा एउटा यात्रु रेल र स्थिर मालवाहक रेल ठोक्किँदा करिब तीन सय जनाको मृत्यु भएको थियो । दुर्घटनामा पटरीबाट खसेका डब्बाहरूले अर्को तीव्र गतिमा गइरहेको यात्रु रेललाई पनि ठक्कर दिएका थिए ।

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

प्रतिक्रिया