सुडानको युद्धबाट दक्षिण सुडानमा १० लाख मानिस पलायन : संयुक्त राष्ट्रसंघ

नैरोबी- अहिलेसम्म १० लाखभन्दा बढी मानिस सुडानको युद्धबाट छिमेकी देश दक्षिण सुडानमा भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यस तथ्याङ्कले मानवीय सङ्कटलाई चित्रण गरेको राष्ट्रसङ्घले बताएको छ ।
सन् २०२३ अप्रिलमा सुडानको सेना र प्रतिद्वन्द्वी अर्धसैनिक समूहबीच द्वन्द्व सुरु भएयता दशौँ हजारको मृत्यु भएको छ र एक करोड २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
राष्ट्रसङ्घको नयाँ तथ्याङ्कअनुसार पछिल्लो २१ महिनामा जोडा सीमा नाकाबाट ७७ हजारभन्दा बढी मानिस भागेका छन् र अन्य स्थानबाट पनि दशौँ हजार मानिस दक्षिण सुडान प्रवेश गरेका छन् । यो पलायनले कूल सङ्ख्या १० लाख पुर्याएको छ ।
राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसिआरका अनुसार सीमा पार गर्ने १० लाख मानिसमध्ये अधिकांश दक्षिण सुडानी नागरिकहरू हुन् । उनीहरू विश्वको सबैभन्दा नयाँ देशमा भएको गृहयुद्धबाट पहिले नै भागेका थिए ।
“दक्षिण सुडानमा १० लाखभन्दा बढी मानिसको आगमन एउटा स्पष्ट र गम्भीर तथ्याङ्क हो र यसले वास्तवमा यो सङ्कटको बढ्दो परिमाणलाई देखाउँछ”, युएनएचसिआरका साना अब्दुल्ला ओमरले भने, “दक्षिण सुडानका जनताले असाधारण उदारता देखाउँदै छन्, आवश्यकतामा परेकाहरूलाई स्वागत गर्दै र आफूसँग भएका सीमित स्रोतहरू बाँड्दै छन्, तर उनीहरूले यो विशाल जिम्मेवारी एक्लै बोक्न सक्दैनन् ।”
संयुक्त राष्ट्रसङ्घको संयुक्त वक्तव्यले दक्षिण सुडानमा स्वास्थ्य सेवा, पानी र आश्रय जस्ता स्रोतहरू ‘खतरनाक रूपमा अत्यधिक तनावग्रस्त’ भएको चेतावनी दिँदै विस्थापित मानिसहरू र उनीहरूलाई आश्रय दिने समुदायहरू दुवैका लागि थप सहयोगको आह्वान गरेको छ ।
दक्षिण सुडानको उत्तरी सिमानामा रहेको रेन्क काउन्टीमा दुई ट्रान्जिट केन्द्र पाँच हजारभन्दा कम मानिसका लागि डिजाइन गरिएको थियो तर अहिले १६ हजारभन्दा बढी मानिसलाई राखिरहेको वक्तव्यमा उल्लेख छ ।
प्रहरीका अनुसार गत हप्ता दक्षिण सुडानमा सुडानी नागरिक विरोधी प्रदर्शन लुटपाट र हिंसामा परिणत भएपछि १६ जना सुडानी नागरिक मारिएका थिए ।
सुडान विश्वको सबैभन्दा खराब आन्तरिक विस्थापन सङ्कटबाट गुज्रिरहेको छ र देशका केही भागमा अनिकाल घोषणा गरिएको छ ।
युद्धले सुडानी सेना प्रमुख अब्देल फत्तह अल–बुरहान र उहाँका पूर्व उप–प्रमुख मोहम्मद हमदान दागलोबीच द्वन्द्व निम्त्याएको छ । दागलोले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को कमान्ड गर्नुहुन्छ । दुवै पक्षलाई युद्ध अपराधको आरोप लागेको छ, जसमा नागरिकहरूलाई लक्षित गर्ने र आवासीय क्षेत्रहरूमा अन्धाधुन्ध गोलाबारी गर्ने समावेश छन् ।
आरएसएफलाई विशेष गरी जातीय सफाया, व्यवस्थित यौन हिंसा र सम्पूर्ण सहरमा घेराबन्दी गरेको आरोप लगाइएको छ ।
नोभेम्बरमा गरिएको एक अनुसन्धानले रोग र भोकमरीलगायत सबै कारणबाट भएका मृत्युलाई समावेश गर्दा युद्धको पहिलो १४ महिनामा ६१ हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरेको थियो । (एएफपी)

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

प्रतिक्रिया