बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

अक्टोबर ७ को आक्रमणले अमेरिकी आणविक वार्ताको ‘अवसर नष्ट’ गर्‍यो : इरान

डाभोस (स्विट्जरल्यान्ड)- इरानका उपराष्ट्रपति मोहम्मद जावेद जरिफले बुधबार हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणले ऐतिहासिक आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको अवसरलाई ‘नष्ट’ गरेको बताएका छन् ।

प्यालेस्टिनी लडाकू समूहको अभूतपूर्व आक्रमणले गाजामा विनाशकारी युद्ध निम्त्याएपछि मध्य–पूर्वभरका तेहरान–समर्थित लडाकूहरूलाई आकर्षित गर्यो र इरान तथा इजरायलबीच दुर्लभ प्रत्यक्ष आक्रमणहरू भए ।

हमासलाई आर्थिक र सैन्य रूपमा समर्थन गर्ने इरानले आक्रमणको प्रशंसा गर्‍यो तर यसमा संलग्नता अस्वीकार गर्‍यो ।

“हामीलाई अक्टोबर ७ को बारेमा थाहा थिएन... हामीले अक्टोबर ९ मा जेसिपिओए नवीकरणका लागि अमेरिकीहरूसँग बैठक गर्नुपर्ने थियो, जुन यस अपरेसनले कमजोर र नष्ट भएको थियो”, जरिफले २०१५ मा भएको इरान आणविक सम्झौताको आधिकारिक नामको संक्षिप्त नाम प्रयोग गर्दै डाभोसमा विश्व आर्थिक मञ्चमा भने, “क्षेत्रमा हमाससहित इरानका सहयोगीहरू सधैँ हाम्रो खर्चमा समेत आफ्नै उद्देश्यका लागि काम गरेका छन्, हामीले यस क्षेत्रमा हाम्रो लगानी नगद (मा) गर्न कहिल्यै प्रयास गरेनौँ ।”

हाल इरानका रणनीतिक मामिलाका उपराष्ट्रपति जरिफ तेहरान र विश्व शक्तिहरू बीच सन् २०१५ को आणविक सम्झौतामा वार्ता गर्ने विदेशमन्त्री थिए ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टन सम्झौताबाट बाहिरिएको थियो । जसले प्रतिबन्ध राहतको बदलामा इरानको आणविक कार्यक्रममा प्रतिबन्ध लगाएको थियो ।

तेहरानले सन् २०१८ मा वासिङ्टनले सम्झौताबाट फिर्ता नभएसम्म सम्झौताको पालना गर्‍यो तर त्यसपछि आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन थाल्यो । इरानले सम्झौता पुनर्जीवित गर्न बारम्बार इच्छा व्यक्त गरेको छ ।

यसै महिनाको सुरुमा ट्रम्प औपचारिक रूपमा ह्वाइट हाउस फर्कनुअघि इरानी अधिकारीहरूले बेलायत, फ्रान्स र जर्मनीका समकक्षीहरूसँग आणविक परमाणु वार्ता गरेका थिए । दुवै पक्षले वार्तालाई ‘स्पष्ट र रचनात्मक’ भएको बताएका थिए । (एएफपी)