मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

नक्सा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट संचालन गर्न महानगरको निर्देशन

फाइल फाेटाे

काठमाडौं - भवन नक्सा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौँ महानगरपालिकाले सहरी व्यवस्थापन विभागलाई निर्देशन दिएको छ । 

महानगरका तर्फबाट उपप्रमुख सुनिता डङ्गोलले सेवाग्राहीको सहजताका लागि नक्सा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन विभागलाई निर्देशन दिएकी हुन् । 

विभागका प्रमुख हरिश्चन्द्र लामिछानेसहित अधिकारीलाई भवन निर्माणको गति, नक्सा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी, निर्णायकबाट हुने भवन नक्सा स्वीकृतिको प्रक्रियाका बारेमा जानकारी लिँदै उनले कागजी प्रक्रियासहितको व्यवस्था विस्थापन गर्न आग्रह गरिन् । 

विभागका प्रमुख लामिछानेले इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (इबिपिएस) मा आधारित नक्सा स्वीकृत प्रणालीमा आधारित सेवा दिन सकिने अवस्थाका बारेमा चर्चा गरे । उनका चालु आर्थिक वर्षको हालसम्म चार सय ७८ वटा भवन नक्सा स्वीकृत भएका छन् ।

तला थप गर्ने १५ स्वीकृत भएका छन् भने एक हजार ५९ वटाको निर्माण सम्पन्न प्रमाणपत्र जारी गरिएको छ । एक सय दुई भवनको नक्सा नामसारी गरिएको उनले जानकारी दिए । 

गत आर्थिक वर्षमा एक हजार तीन सय २० भवनको नक्सा स्वीकृत, ६६ वटाको तला थप, तीन हजार सात सय ४५ भवन निर्माण सम्पन्न प्रमाणपत्र जारी र एक सय ५५ वटाको नक्सा नामसारी भएको थियो ।

पाँच हजार वर्गफिटसम्म क्षेत्रफल भएका भवनको अस्थायी नक्शा स्वीकृत (डिपिसी) को नक्सा वडाबाट स्वीकृत हुन्छ । भवनको माथिल्लो भागका लागि केन्द्रबाट स्वीकृति लिनुपर्दछ । दश हजार वर्गफिट भन्दामाथि क्षेत्रफल भएका भवनको नक्शा स्वीकृत गर्न प्राविधिक निर्णायक मण्डलको मूल्यांकन बमोजिम हुने व्यवस्था रहेको कामपाले जनाएको छ ।