उत्तरार्द्धमा नायक बनेका इमिलियानो मार्टिनेज

काठमाडौँ: इंग्लिस प्रिमियर लिगको २०१९/२० सिजन । ब्राइटन र आर्सनलबीचको खेल । ब्राइटनको मैदानमा भइरहेको खेलमा आर्सनलले ४० औँ मिनेटमा आफ्ना गोलरक्षक बर्नाड लेनोलाई गुमायो । लेनो घाइते भएर मैदान छाडेपछि उनलाई प्रतिस्थापन गरे, इमिलियानो मार्टिनेजले । अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजका लागि त्यो सिजनको पहिलो लिग खेल थियो ।
मार्टिनेजले त्यसपछिका आठ लिग खेल खेले । त्यस दौरान आर्सनलले पाँच जित दर्ता गर्यो । तीमध्ये तीन खेलमा मार्टिनेजले गोल नै खाएनन् । लिभरपुल जस्तो बलियो टिममाथि आर्सनलले जित दर्ता गर्दा मार्टिनेजको भूमिका उल्लेख्य थियो । चेल्सीविरुद्धको एफए कप फाइनलमा पनि गोलरक्षक मार्टिनेज नै थिए । जे होस, पाएको थोरै मौकामा उनले आफूलाई प्रमाणित गरे ।
मार्टिनेज जुलाई, २०१० मै आर्सनलसँग आबद्ध भएका थिए । तर उनले लन्डन क्लबमा बिरलै मौका पाए । लिगमा उनले जम्मा १५ खेल मत्रै खेल्न पाए । आर्सनलमा निरन्तर नजरअन्दाज गरिँदा मार्टिनेजले आफूमाथि विश्वास नै गर्न छाडेका थिए । अनि कतिपय अवस्थामा खेल प्रति वितृष्णा पनि जाग्यो । ‘मैले कयौँ वर्ष पर्खिएँ । तर आर्सनलमा मौका पाइन । किन खेल्न नपाएको होला जस्तो लाग्थ्यो । विस्तारै आफ्नै क्षमतामाथि विश्वास लाग्न छाड्यो । अनि खेलसँगको प्रेम पनि घटेको हो कि भन्ने महसुस हुन थाल्याे । तर मेहेनत गर्न चाँहि कहिले पनि छाडिन,’ एस्टन भिल्लासँग आबद्ध भएपछि मार्टिनेजले भनेका थिए ।
१० वर्ष आर्सनलसँग रहेपछि मार्टिनेज सेप्टेम्बर २०२० मा भिल्लातर्फ लागे । हुन त बीचमा पनि पटक-पटक मार्टिनेजले आर्सनल छाडेका थिए । तर अस्थायी रुपमा मात्रै । फुटबलको भाषमा भन्दा ‘लोन’मा । उनले इंगल्यान्डकै रिडिङदेखि स्पेनको गेटाफे सम्मबाट खेले । तर भिल्लातर्फको स्थान्तरण भने ‘लोन मुभ’ थिएन ।
भिल्लाले मार्टिनेजका लागि १७ मिलियन पाउण्ड खर्च गर्यो । जसले उनलाई अर्जेन्टिनाको इतिहासकै महंगो गोलरक्षक बनायो । फेरि मार्टिनेजले भिल्लालाई निराश बनाएनन् । त्यसको उदाहरण हो, लिगमा उनले गरेको प्रदर्शन । गत सिजन उनले १५ खेलमा गोल खाएनन् । सबैभन्दा धेरै क्लिनसिट राख्ने गोलरक्षकको सूचीमा उनी तेस्रो स्थानमा रहे ।
‘भिल्ला आउनु अघि मेरो अर्थिक अवस्था खराब थियो । कहिलेकाँहि परिवारको खर्चै धान्न मुश्किल हुन्थ्यो । अहिले विगतलाई फर्केर हेर्दा रमाइलो लाग्छ,’ गत सिजन भिल्लामा ‘प्लेयर अफ दी सिजन’ बनेका मार्टिनेजले दी इन्डिपेन्डेन्टसँग भनेका छन् ।
मार्टिनेज गत सिजन भिल्लाका नायक त बने नै, हाल अर्जेन्टिनाको राष्ट्रिय टिमको पनि स्टार बनेका छन् । कोपा अमेरिकामा बुधबार बिहान उनले कोलम्बियाविरुद्ध तीन पेनाल्टी रोके । उनकै सशक्त प्रदर्शनले अर्जेन्टिनालाई कोपाको फाइनल पुर्यायो । गत महिना मात्रै अर्जेन्टिनाका लागि पहिलो खेल खेलेका मार्टिनेजले स्वभाविकरुपमा प्रशंसा बटुलेका छन् । उनको खेलले कप्तान लियोनल मेस्सी समेत अवाक् भएका छन् ।
‘हामी कोपाको फाइनल प्रवेश गरेका छौँ । यस सफलतामा मार्टिनेजको भूमिका उल्लेख्य रहेको छ । उनी वास्तवमै असाधारण खेलाडी हुन्,’ मेस्सीले भनेका छन् । उता प्रशिक्षक लियोनल स्कालोनीले पनि अर्जेन्टिनाको टिममा मार्टिनेजको प्रभाव असाध्यै बलियो रहेको प्रतिक्रिया दिएका छन् । ‘हामी मार्टिनेजको प्रदर्शनले प्रशन्न छौँ । पेनाल्टीका कारणले मात्रै होइन, समग्र प्रदर्शनको आधारमा । उनका कारण हाम्रा रक्षकहरूमा पनि आत्मविश्वास बढेको छ,’ स्कालोनीले कोलम्बियासँगको खेलपछि भने ।
मार्टिनेज २८ वर्षका भए । यसै पनि गोलरक्षक अन्य पोजिसनका खेलाडीहरू भन्दा लामो समयसम्म खेल्न सक्छन् । त्यसकारण ढिलै मौका पाए पनि मार्टिनेज विश्व फुटबलमा स्थापित हुने समय अझै बाँकी छ । यो त बस् सुरुवात हो ।
मार्टिनेज जुन परिवेशबाट आएका छन्, त्यसले उनलाई अरुको भन्दा बढी मेहेनत गर्न सिकाउँछ । अनि धैर्य राख्न पनि । चरम गरिबीको माझबाट फुटबलमा होमिएका मार्टिनेजकी आमा स्थानीय होटलमा सरसफाईको काम गर्थिन् । परिवारमा गरिबी यति गहिरो थियो कि, मार्टिनेज बस्ने घरमा ढोकै थिएन । नत शौचालय नै थियो । मार्टिनेज सानै छँदा घरमा डकैती भयो । उनको प्यारो कुकुरसमेत मारियो ।
‘हामी बस्ने मार डेल प्लाटाको वातावरण खतरनाक थियो । वातावरणले नै मलाई निडर बनायो । फेरि गरिबीका कारण पनि अत्यन्तै दु:ख थियो । हामीलाई मात्रै होइन, त्यहाँ बस्ने सबैलाई । यद्यपि भोकै बस्नुपर्ने अवस्था भने थिएन,’ मार्टिनेजले भनेका छन् ।
अन्य प्रतिभाशाली अर्जेन्टाइन बालक÷किशोर जस्तै मार्टिनेज पनि ठूला क्लबको नजरमा नपर्ने कुरै भएन । उनी १२ वर्षको उमेरमा इन्डिपेन्डिएन्टेसँग आबद्ध भए । जुन मार्टिनेजको घर भन्दा दुई सय पचास माइल परको ब्युनोस आयर्समा अवस्थित थियो । इन्डिपेन्डिएन्टको बसाइ मार्टिनेजका लागि सहज थिएन । उनी प्रत्येक रात घरमा टेलिफोन गरेर रुने गर्थे । ‘सुरुवातमा म डराएको थिए । तर विस्तारै म मानसिकरुपमा बलियो हुँदै गए । त्यसैले पनि मैले आफ्नो खेलमा ध्यान दिन पाए । कतिपय साथी कुलतमा पनि लागेका थिए । तर म आफ्नो लक्ष्य भन्दा विचलित भइन,’ मार्टिनेजले एक अन्तवार्तामा भनेका छन् ।
त्यही अभिवृतीले मार्टिनेजलाई इंगल्यान्ड पुर्यायो । हुन त सुरुमा उनी दोधारमै थिए । आर्सनलले सन् २०१० मा ‘ट्रायल’मा बोलाउँदा मार्टिनेज १६ वर्ष कटेका थिएनन् । तर उनी इन्डिपेन्डिएन्टेको पहिलो रोजाइको गोलरक्षक बन्ने संघारमा थिए । मार्टिनेज आर्सनलमा ट्रायल दिएर अर्जेन्टिना फर्किए । आमा बुवालाई भेट्न घर पुगे ।
जहाँ उनको साक्षात्कार भयो, निकै खराब क्षणसँग । घर पुग्दा उनले बुवा रोइरहेको भेटे । जो त्यही दिन कामबाट निकालिएका थिए । घर खर्च चलाउन भएको एउटा कार पनि बेचिसकिएको थियो । ‘त्यस दिन मैले सोचे, जे गरेर भएपनि परिवारको आर्थिक अवस्था सुधार्छु,’ मार्टिनेज आफ्नो विगत सम्झिन्छन् ।
एक सातापछि मार्टिनेजलाई इन्डिपेन्डिएन्टे प्रशासनले बैठकका लागि बोलायो । त्यहाँ उनलाई सुनाइयो, क्लबले आर्सनलको प्रस्ताव स्विकारेको छ । उनी आर्सनल जाने त भए तर घरमा रुवाबासी चल्न थाल्यो । उनकी आमा र भाईले अर्जेन्टिना नछाड्न अनुरोध गरे । तर मार्टिनेजले सुनेनन् । किनभने आर्सनलले मार्टिनेजलाई करिब पाँच हजार पाउण्ड दिँदै थियो । लन्डन क्लबसँग आबद्ध भए वापत । ‘मैले सोचे यो पैसाले घरको ऋण तिर्न पुग्छ । अनि बुवालाई एउटा गाडी पनि किनिदिन सक्छु । त्यसकारण मैले अरु केही सोचिन । बस् इंगल्यान्ड हानिए,’ मार्टिनेजले दी इन्डिपेन्डेन्टसँगको अन्तवार्तामा भनेका छन् ।
लन्डनमा सुरुवात सुखद भएन । बेलायती राजधानी पुगेको केही महिनसम्म उनको पासपोर्ट सम्बन्धी समस्या आयो । त्यसकारण उनले तत्काल आर्सनलबाट खेल्ने मौका पाएनन् । उनको आर्सनल करियर अण्डर–२१ टिमबाट सुरु भयो । थप अनुभवका लागि उनलाई तल्लो श्रेणीका विभिन्न इंग्लिस क्लबहरूमा पठाइयो । जुन धेरै वर्षसम्म जारी रह्यो ।
मार्टिनेजको करियरको दोस्रो अध्याय भिल्ला पुगेपछि सुरु भयो । सुरुवात पनि दमदार रह्यो । उनले पहिलो खेलमै पेनाल्टी बचाए । त्यसपछिका चार खेलमा गोलै नै खाएनन् । परिणामस्वरुप उनी भिल्ला समर्थकमाझ लोकप्रिय भए । करियरमै पहिलो पटक उनले आफ्नो भविष्य सुरक्षित देख्न थाले । तर त्यस्तो भावनाले उनलाई अल्छी भने बनाएन । बरु सफलताले उनलाई थप आत्मविश्वासी बनायो ।
मार्टिनेजले भिल्लामा देखाएको लयबारे अर्जेन्टिना बेखबर थिएन । विश्वकप छनौटका लागि उनलाई टिममा बोलाइयो । गत जुनमा चिलीविरुद्धको खेलमा उनी पहिलो एघारमा परे । त्यसयता उनी अर्जेन्टिनाको नम्बर एक गोलरक्षक बनेका छन् । उनको पछिल्लो सफलतालाई अर्जेन्टिनाका किशोर खेलाडीहरूले प्रेरणा मानेका छन् । ‘मलाई किशोर तथा युवा खेलाडीहरूले सोध्छन्, म कसरी सफल हुन सकेँ भनेर । खासमा उनीहरू म बाट सल्लाह र सुझावको अपेक्षा गर्छन् । मेरो सल्लाह भनेको मेहेनत गर्नुपर्छ भन्ने नै हो । प्रतिभाले मात्र पुग्दैन । म आफूलाई प्रतिभा भएको खेलाडी ठान्थेँ । तर प्रत्येक दिन मेहेनत नगरेको भए यो स्थानसम्म आइपुग्दिन थिएँ,’ मार्टिनेज भन्छन् ।

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया