लस एन्जलसको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा हजारौँ पलायन

लस एन्जलस- बुधबार आँधीको गतिको हावाले बढाएको तीन वटा नियन्त्रण बाहिरका जङ्गली डढेलोले दर्जनौँ घर नष्ट गर्दा लस एन्जलसको उपनगरीय क्षेत्रबाट दशौँ हजार मानिस आफ्ना घरबाट भागेका छन् ।
अमेरिकी मिडियाका अनुसार उच्च वर्गीय प्यासिफिक पालिसेड्स छिमेकी क्षेत्र नजिकैको आगो निभाउने क्रममा कम्तीमा एक दमकलकर्मी घाइते भएका छन् र केही अन्य मानिस जलेको खबर आएको छ ।
भयानक हावाले आगोलाई फैलाउँदै रातो–तातो झिल्काहरूलाई सयौँ मिटर टाढासम्म उडाउँदै असहाय दमकलकर्मीहरूले निभाउन नसक्ने गरी नयाँ स्थानहरूमा आगो सल्किँदै गएको थियो ।
बिहान हुँदा लस एन्जलसमाथि धुवाँको विशाल पर्दा देखिन्थ्यो र हावामा जलेको तीखो गन्ध थियो ।
सहरका मेयर करेन बासले बुधबार बिहान एक्समा पोस्ट गर्दै चेतावनी दिए, “आँधी बिहानभर झन् खराब हुने अपेक्षा गरिएको छ ।”
लस एन्जलस टाइम्सका अनुसार पालिसेड्समा केही दमकलकर्मीले हाइड्रेन्टमा पानीको कमी सामना गरिरहेका छन् । त्यहाँको आगोले अहिलेसम्म लगभग तीन हजार एकड (१,२०० हेक्टर) भूमि जलाइसकेको छ ।
लस एन्जलसको उत्तरमा अल्टाडेना वरपर दुई हजार दुई सय एकडमा भएको इटोन आगलागीमा एएफपीका एक पत्रकारले आपत्कालीन कामदारहरूले वृद्ध बिरामीहरूलाई उनीहरूको हेरचाह सुविधाबाट ह्विलचेयरमा बाहिर निकाल्दै गरेको देखे ।
तेस्रो आगो सान्ता क्लारिटाको वरिपरि लागिरहेको थियो । प्यासिफिक पालिसेड्सको आगलागीले क्यालिफोर्नियाको सबैभन्दा मनपर्ने स्थानहरू मध्ये एकमा दर्जनौँ घर नष्ट गरिसकेको छ । त्यहाँ हलिउडका सेलिब्रेटीहरू करोडौँ डलरको घरमा बस्नेहरूमध्ये छन् ।
एमी पुरस्कार विजेता अभिनेता जेम्स वुड्सले आफ्नो घर खाली गर्न तयार हुँदै गर्दा आफ्नो घर नजिकैका रूख र झाडीहरूमा आगो लागेको भिडियो पोस्ट गरे र सबै आगोका अलार्म बजिरहेको बताए ।
“हाम्रो पहाडको प्यारो सानो घर यति लामो टिक्यो भन्ने मलाई विश्वास लाग्दैन । यो कुनै प्रियजनलाई गुमाए जस्तो महसुस भइरहेको छ”, उनले भने ।
मङ्गलबार साँझ जेनिफर लोपेजको नयाँ फिल्म ‘अनस्टपेबल’ को रेड–कार्पेट प्रिमियरसहित क्षेत्रभरका कार्यक्रमहरू रद्द गरियो भने स्क्रिन एक्टर्स गिल्ड अवार्डले बुधबारको व्यक्तिगत नामाङ्कन समारोहलाई प्रेस विज्ञप्तिले प्रतिस्थापन गर्ने बताएको छ ।
राष्ट्रपति जो बाइडेनले मङ्गलबार राति आफूलाई ‘डढेलो बारेमा बारम्बार जानकारी दिइरहेको’ र आवश्यक परेमा सङ्घीय सहयोगको प्रस्ताव गरेको बताए ।
कारमा दौडियौँ
मङ्गलबार बिहान पहिलो डढेलो सुरु भयो र धेरै बासिन्दालाई चकित पार्दै यो द्रुत गतिमा बढेको थियो ।
प्यासिफिक पालिसेड्सका बासिन्दा एन्ड्र्यु हाइरेसले उनको बच्चा दन्त चिकित्सककहाँ दाँत निकाल्न जाँदै गर्दा आगोको चेतावनी दिने सन्देश प्राप्त भएको बताए । “हामीले मास्क निकाल्यौँ र कारमा दौडियौँ”, उनले भने ।
गेट्टी भिल्ला वरपरका रुख र वनस्पतिहरू जलेको तर संरचना र सङ्ग्रहहरू बचेको सङ्ग्रहालयले बतायो ।
अमेरिकी तेल अर्बपति तथा सङ्ग्रहकर्ता जे. पल गेट्टीले स्थापना गरेको र विश्वका सबैभन्दा धनी कला सङ्ग्रहालयहरू मध्येको एक गेट्टीले रोमन देहाती घरको प्रतिकृतिमा ग्रिक र रोमन पुरातात्विक वस्तुहरू राख्छ ।
यस क्षेत्रमा मौसमी सान्ता एना हावाले प्रहार गरिरहेको बेला आगो लागेको थियो । पूर्वानुमानकर्ताहरूले यो प्रतिघन्टा एक सय ६० किलोमिटरसम्मको वेगका साथ एक दशकमा सबैभन्दा खराब आँधीबेहरीमा परिणत हुनसक्ने बताएका थिए ।
“यो निकै चिन्ताजनक देखिन्छ”, मौसमविद् डेनियल स्वेनले भने ।
जङ्गलमा लागेको डढेलो अमेरिकाको पश्चिममा जीवनको हिस्सा हो र यसले प्रकृतिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
तर वैज्ञानिकहरूका अनुसार मानव–निर्मित जलवायु परिवर्तनले मौसम ढाँचाहरूलाई परिवर्तन गरिरहेको छ । (एएफपी)

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_80irBBoAGs_mv0yjt6duz8zljvwrxj0w6l6svtzddvt6tmosc095iczuaowouypwprvskay.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया