बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताएका छन्।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले मंगलबार काठमाडौं उपत्यकाका नगर प्रमुख एवं उपप्रमुहरूसँग प्रस्तावित बागमती कार्ययोजनामाथि छलफल कार्यक्रममा बोल्दै उनले अबका योजना प्रकृतिमैत्री रूपमा अघि बढाउनुपर्ने बताए।
‘बाग्मती कार्ययोजना टुटेको थियो। फेरि यसलाई निरन्तरा दिएका छौं। बाग्मती कार्ययोजना प्रकृतिमैत्री रूपमा अगाडी बढाउँछौं, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ,’ उनले भने, ‘यहाँको वातावरण सुहाउने गरी योजना अघि बढाउँछौं। कार्ययोजनामा छलफलमा आएका सुझाव समेटेर, सरोकारवालासँग छलफल गरेर अन्तिम रुप दिन्छौं।’
छलफलमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखबाट महत्वपूर्ण सुझाव आएको पनि उनले बताए।
बागमती कार्ययोजनाले बागमती नदी प्रणालीमा रहेका १७ वटा अरू नदीको समेत अध्ययन गरी प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र,उपसहरी क्षेत्र, सहरी क्षेत्र र तल्लो क्षेत्र गरी ५ भागमा वर्गीकरण गरेर अध्ययन गर्ने उनले बताए।
२० वर्षे कार्ययोजनाको लागत अनुमान २ खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए।
सहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्ययोजना २०२४-४४ माथि छलफल आयोजना गरेको हो। छलफलमा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कार्ययोजना सकारात्मक रहेको भन्दै हरियाली जोगाउने गरी प्रकृतिमैत्री रूपमा योजना अघि बढाउनुपर्ने बताए।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल, शंकरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठ, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, गोदावरी नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन लगायतको सहभागिता थियो।
नगर प्रमुख र उपप्रमुखले बागमती करिडोरलाई व्यवस्थित गर्ने, हरियाली कायम गर्ने गरी कार्ययोजना बनाउनुपर्ने बताएका थिए।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया