शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

आख्यानकार थापाको ‘मेरा गाउँको खड्क्यामन्त्री’विमोचन

टीकापुर- आख्यानकार स्वर्गीय गगनसिंह थापाकृत ‘मेरा गाउँको खड्क्यामन्त्री’उपन्यास लोकार्पण गरिएको छ । यहाँ एक कार्यक्रम आयोजना गरी स्व थापाका छोरा हिक्मत थापाले नवौँ कृतिका रुपमा उपन्यासको लोकार्पण कृतिका मुख्य पात्र खड्गबहादुर नेपाली र धौरी नेपालीमार्फत विमोचन गराए ।

गगन फाउन्डेसनका संस्थापक थापाले पिताले लेखेर राखेका कृतिलाई पुस्तकका रुपमा हरेक वर्ष प्रकाशनमा ल्याउन थालेका छन् । सामाजिक कार्यमा सक्रिय थापाले मागेर जीवन गुजारा गर्ने विपन्नको जीवनमा आधारित कृति पिताको उत्कृष्ट कृतिका रुपमा रहेको बताए ।

“शिविरमा टहरा बनाएर बस्ने, शारीरिक अपाङ्गता भएकाले मागेर जीवन गुजारा गर्ने नेपाली दम्पतीलाई उपन्यास बिक्रीबाट सङ्कलन हुने एक लाख बढी रकम दिनेछु”, उनले भने, “स्व पिताजीले पुस्तकमा खड्गबहादुर जीवन समृद्ध भएको परिकल्पना गरेकाले उहाँको परिवारलाई सक्दो सहायता गर्नेछु ।”

पुस्तकको अग्रिम बिक्रीबाट प्राप्त रु १० हजार रकम नेपाली दम्पतीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा साहित्यकार पूर्ण रावलले नेपाली दम्पतीलाई रु दुई हजार पाँच सय हस्तान्तरण गरे ।

स्व थापाका सोह्रसौगात (कथासङ्ग्रह), कर्णालीको छेउछाउ, मेरो मधुशाला, अस्ताचलको ढोकाबाट, महाप्रलय र पुर्खाको चिठ्ठी, (उपन्यास) प्रकाशित छन् भने उज्जली र मरुभूमिकी महारानी (लघु उपन्यास) प्रकाशित भइसकेका छन् । साहित्यकार थापाको वि सं २०७७ कात्तिक १९ गते निधन भएको हो । - रासस