शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

कवि शिरोमणिको जन्मजयन्ती मनाइयो

कवि शिरोमणि लेखनाथ पौड्यालको १४० औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौड्यालको शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको छ।  

कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको  कार्यक्रम कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्द सुब्बा तुम्बाहाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौड्यालले अतुलनीय योगदान गरेको उल्लेख गर्दै उनले कविवरको योगदान युवा पुस्ताले बिर्सन नहुने बताए।  

कार्यक्रमका अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपानेले कविशिरोमणि पौड्याल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार भएको बताए। त्यस्तै अर्का अतिथि प्रा. डा. गोपाल भण्डारीले नेपाली साहित्याकासका उज्ज्वल नक्षत्र पौड्यालले अमर कृति एवं सार्वकालिक रचनाका कारण कविशिरोमणिको उपाधि पाएको बताए। उनका कवितामा मानव जीवनका विविध पक्ष समेटिएका उनले बताए। कार्यक्रममा प्रा. डा. खेम दाहाल, प्रा डा वंशीधर कट्टेलले कविशिरोमणिका विविध रचना वाचन गरेका थिए।  

आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उनको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाउने गरिएको बताए। जन्मजयन्तीकै अवसरमा आगामी माघमा कविता प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए । रासस