सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

काम गर्ने इच्छा भए ठाउँ र अवसर प्रशस्त छन् : उपप्रधानमन्त्री सिंह

फाइल फोटो

भक्तपुर- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताएका छन् ।

मध्यपुर महोत्सव–२०८१ को आज बालकुमारीमा उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पुर्खाले छाडेर गएका सीप, ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृति र उत्पादनको संरक्षण, संवर्द्धन र पर्यटकीय दृश्यकोणले बजारीकरण गर्न सके आर्थिक मेरुदण्ड बलियो हुने बताए ।

उनले भने, “आफू जन्मेको ठाउँको परिवेश बुझेर अपनत्व ग्रहण गर्दै यसको संरक्षण गर्ने, आफ्ना पुर्खाले छाडेर गएका सीप, स्थानीय कला संस्कृति, उत्पादनको संरक्षण र व्यावसापयिकीकरण गरे पनि आर्थिक उपार्जनका अवसरहरु यहीँ प्रशस्त भेटिन्छन् ।”

मध्यपुर थिमिका मूर्तअमूर्त सम्पदाहरुको संरक्षण गर्ने, पर्यटक भित्र्याएर देखाउने, यस ठाउँलाई चिनाउने र नयाँ पिँढीलाई सिकाउनुपर्ने औँल्याउँदै उनले मध्यपुर महोत्सवले मध्यपुरथिमिको मात्रै नभई देशकै आर्थिक अवस्था उकास्ने उनले बताए ।

उपप्रधानमन्त्री सिंहले भने, “महोत्सवले सिङ्गो मध्यपुरबासिन्दालाई मात्रै नभएर सिङ्गो देशबासिन्दालाई एकै थलोमा ल्याएर नेपालको अर्थतन्त्रलाई लयमा फर्काउँदै आर्थिक विकास गर्न ठूलो टेवा पुग्छ ।”

विश्वमा नेपाललाई चिनाउने यहाँका कला, संस्कृति र ऐतिहासिक सम्पदाका धरोहरहरुको प्रचारप्रसार गर्ने, पर्यटक भित्र्याउन निम्तो दिने, पर्यकटलाई आकर्षित गरेर यहाँको आर्थिक विकास गर्नुपर्ने उनले बताए ।