मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

‘आन्तरिक पर्यटनमा जोड दिन आवश्यक’

फाइल फाेटाे

काभ्रेपलाञ्चोक - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटकीय गतिविधि थप चलायमान बनाउनका लागि आन्तरिक पर्यटनलाई बढावा दिनुपर्नेमा जोड दिएका छन् ।

आज काभ्रेपलाञ्चोकको पनौतीमा सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानद्वारा आयोजित पुस्तक लोकार्पण एवं सम्मान कार्यक्रममा उनले भने, “आन्तरिक पर्यटन जति धेरै चलायमान हुन्छ, त्यति पर्यटकीय महत्व बढ्छ, त्यसलै हामीले आन्तरिक पर्यटनलाई पनि जोड दिनु आवश्यक छ ।”

उनले छिमेकी देश समृद्ध हुँदा पनि त्यसको फाइदा नेपालको पर्यटन क्षेत्रलाई हुने धारणा राखे । “छिमेकी मुलुक भारत र चीनलगायतका देश समृद्धिको दिशामा अगाडि बढेका छन्, यो हाम्रो लागि पनि राम्रो विषय हो”, उनले भने । विभिन्न जाति, चाडपर्व, भेषभुषा, खानपानका हिसावले विविधतापूर्ण नेपालमा पर्यटननै विदेशी पर्यटक आकर्षित गर्ने प्रमुख माध्यम भएको उहाँको भनाइ थियो ।

उनले विश्व सम्पदामा सूचीकृतका पहल गरिरहेको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीलाई सूचीकृतयोग्य बनाउन मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । 

त्यस अवसरमा मन्त्री पाण्डेले पनौतीका साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा लिखित ‘पनौतीका जात्रा पर्वहरु–३’ नामक पुस्तकको लोकार्पण गरे । साथै स्थानीय पे्रमबहादुर महाजू, महेश कर्माचार्य र इन्द्रकुमारी खड्कालाई मन्त्री पाण्डेले ‘प्रजातान्त्रिक योद्धा’का रुपमा सम्मान गरे । 

आजै मन्त्री पाण्डे काभ्रेली महिला सक्रिय समाजद्वारा आयोजित तीन सय हप्तामा प्रवेश पनौती त्रिवेणी सरसफाई नागरिक अभियानमा सहभागी भएका थिए ।