सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

निर्धारित समयमा टुंगिएन कांग्रेसको क्रियाशील विवाद

बाँकी तीन सय वडाको विवाद टुंग्याउन असारभर लाग्‍ने

काठमाडौँ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ क्रियाशील सदस्यता छानबिन समितिले निर्धारित मितिमा सदस्यतासम्बन्धी विवाद टुंग्याउन असफल भएको छ । चार असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले समितिलाई क्रियाशील सदस्यतासम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी सभापति शेरबहादुर देउवालाई बुझाउन २० असारसम्मको समय दिएको थियो । 

केन्द्रीय समितिले दिएको समयमा आफूहरूले क्रियाशील सदस्यताको अन्तिम सूची सभापतिलाई बुझाउन नसकिएको समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए । ‘निर्धारित मितिमा त बुझाउन सकिएन । यो महिनाको अन्तिसम्म सकेर बुझाउँछौं,’ प्रवक्ता पौडेलले इकागजसँग भने, ‘मिल्नै नसक्ने खालका विवाद छैनन् । मापदण्ड बनाएपछि हामीलाई टुंग्याउन सहज भइरहेको छ ।’

मुलुकभर रहेका छ हजार सात सय ४३ वडामध्य पाँच सय वडामा उजुरी परेका थिए । उजुरी परेका मध्य दुई सय वडाको मिलिसकेको र बाँकी तीन सय वडाको उजुरी मिलाउन बाँकी रहेको उनले जानकारी दिए । जिल्लागत हिसाबमा हेर्दा सोमबार साँझसम्म ४५ जिल्ला टुंगिने पौडेलले बताए । 

कांग्रेसको केन्द्रीय कार्यालयको सर्भरमा १४ औं महाधिवेशन प्रयोजनार्थ ८ लाख ४६ हजार क्रियाशील सदस्यताको नामावली इन्ट्री भएको छ । ती मध्य पाँच लाखमा निर्विवाद रहेको र तीन लाख ४६ हजारमा मात्रै विवाद रहेको पौडेलले बताए । 

‘तीन लाख ४६ हजार सदस्यतामा विवाद थियो । ती पनि मिल्दै नमिल्ने खालका छैनन् । यो महिनाभर सबै मिलाएर हामीले सभापतिलाई बुझाउँछौं,’ पौडेलले भने । 

केन्द्रीय कार्यसमितिले बनाएको कार्यतालिका अनुसार क्रियाशील सदस्यताको सूचीमा सभापतिले हस्ताक्षर गरेर निर्वाचन समितिलाई बुझाउने समयसम्म समितिले आफूले टुंग्याएर सभापतिलाई बुझाउने गरी काम भइरहेको छ । 

आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार १२ साउनमा गाँउ/नगर वडा अधिवेशन हुनेछ । त्यो भन्दा अगाडिसम्म क्रियाशील सदस्यता टुंग्याएर निर्वाचन समितिले प्रमाणित गरी सुरु गर्ने तयारी कांग्रेसमा छ ।