बागमती प्रदेश सभा फेरि स्थगित

हेटौंडा : बागमती प्रदेश सभा फेरि स्थगित भएको छ । शनिबारदेखि स्थगित प्रदेश सभाको बैठक सोमबार बसेको थियो । प्रदेश सभाको बैठक अघि बढ्न नपाउँदै विपक्ष दलका संसादहरूले उठेर विरोध जनाएका छन् । प्रमुख पतिपक्ष दलको नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले ल्याएको आगामी बजेट प्रदेशबासी र जनताको हितमा नभएको भन्दै मुख्यमन्त्रीसँग छलफलमा निष्कर्शमा नपुगेसम्म बैठक अघि नबढाउन सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गरे । सभामुख श्रेष्ठले सदन चल्न सक्ने वातावरण नभएपछि अर्का सुचना नभएसम्मको लागि प्रदेश सभा स्थगित गरेका हुन् ।
विद्युतीय बस खरिद पक्रिया रोक्न विपक्षी दल एकजुट
प्रदेश सरकारले सदन सुचारु गर्न विपक्षी दलहरूसँग छलफल पनि अघि बढाएको छ । सोमबार बिहान बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले सबै दलको नेताहरूसँग विद्युतीय बस खरिदको विषयमा छलफल गरेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा सोमबार विद्युतीय बस किन खरिद गनुप¥यो भन्ने विषयमा मन्त्रालयका सचिव संजिव बरालले प्रस्तुती पनि गरे ।
तर दलका नेताहरूले सरकारले तत्काल विद्युतीय बस खरिद गर्न नहुने तर्क गरेका छन् । विपक्ष दलका नेताहरू विद्युतीय बस खरिद तत्काल रोक्न एकजुट देखिएका छन् । प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल माओवादीको नेता शालिकराम जम्कट्टेलले विद्युतीय बस अहिले बहुमतले निर्णय गरेर खरिद गरे धादिङ जिल्लामा चार्जिङ स्टेशन नै राख्न नदिने बताए । उनले पहिले सरकारले विद्युतीय बस खरिद गर्न पूर्वाधार निर्माण गरेर खरिद प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
आगामी वर्षमा विद्युतीय बस खरिद गर्न प्रदेश सरकारले ५० करोड बजेट छुट्टाएको छ । बागमती प्रदेश सरकाले आव ०७६/७७ देखि विद्युतीय सवारी खरिद गर्न बजेट विनियोजन गर्दै आएको छ । आव ०७६/७७ मा २८ करोड, चालू वर्षमा १० करोड यातायात पूर्वाधार निर्देशनालय र अर्थ विविधमा ३० करोड बजेट छुट्टाएको थियो ।
विद्युतीय बस खरिद गरेर सरकारले व्यापार गर्न नहुने कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ भन्छन् । लोकतन्त्रमा राज्यले जनतालाई सेवा दिनुपर्ने तर व्यापार गर्न नहुने उनको तर्क छ । विद्युतीय बस खरिद प्रक्रिया नै गलत भएको भन्दै कांग्रेसको यसको समर्थन नगर्ने नेता बानियाँले स्पष्ट गरे ।
अहिलेको बहुमतको सरकारले बजेट पास गरेर बस खरिद गरेर संचालन गरे कांग्रेसको सरकारले त्यसलाई खारेजी गर्ने उनले बताए । निजी क्षेत्रलाई अवसर दिनुपर्ने उनको भनाइ थियो । भन्सार छुट दिएर निजी क्षेत्रलाई अवसर दिनुपर्ने भन्दै परीक्षण बिना विद्युतीय बस खरिद गरेर सरकार व्यापार गर्न फस्न नहुने नेता बानीयाँको भनाइ छ ।
यस्तै अन्य दलका नेता तथा सांसदहरू पनि पहिले पूर्वाधार तयार गरेर मात्रै बस खरिद प्रक्रिया अघि बढाउन एकमत भएका छन् । प्रदशको सार्वजनिक लेखा समितिले पूर्वाधार निर्माण गरेर मात्रै विद्युतीय बस खरिद गर्न मन्त्रालयलाई निर्देशन दिएको भएपनि त्यसको कार्यान्वयन नभएको समितिको सभापति न्यूक्षेनारायण श्रेष्ठले बताए ।
बागमती प्रदेशले आउँदो साउन महिनामा ३० वटा विद्युतीय बस खरिद गर्न टेन्डर आह्वान गर्ने तयारी गरेको छ । नेपाल विद्युत प्राधिकरणले १० वटा चार्जिङ स्टेशन प्रदेशमा राख्ने सहमति भएपनि कुन स्थानमा चार्जिङ स्टेशन राख्ने तय नहुँदा सांसदहरुले विद्युतीय बस खरिद प्रक्रिया रोक्न माग गरेका हुन् । प्रदेश सरकारले खरिद गर्ने चार्जिङ स्टेशन फागुनमा आउनेछ । विद्युतीय बस ०७९ जेष्ठमा आउने भौतिक मन्त्रालयका सचिव संजिव बरालले बताए । उनका अनुसार विद्युतीय बस आउनु तीन महिना अघि चार्जिङ मेशिन आउने र तीन महिनामा मेशिन फिट गरिनेछ ।
प्रदेश सरकार मातहतमा विद्युत प्राधिकरण नभएको, जग्गा प्राप्ति गर्न संघीय सरकारको निर्णय कुर्नुपर्ने हुँदा अझै एक वर्ष समय लाग्ने भन्दै बस खरिद गरेर बस्न नहुने सांसदहरुले तर्क गरेका छन् । सांसद रमेश पौडेलले विद्युतीय बसको विजनेश प्लान के हो त्यो नै छलफलमा नआएको बताए । बस खरिद गरेर त्यसको १० वर्षसम्मको रणनीति प्रष्ट नभएको भन्दै सांसदहरूले ऐन कानुन बनाउँनै बाँकी भएको अवस्थामा बस खरिद गर्नु उपयुक्त नदेखिएको बताएका छन् ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया