आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

माथिल्लो अरूणको काम अघि बढ्यो, पहुँचमार्ग निर्माण गरिँदै

काठमाडौँ - सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरू भएको छ । भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युत्गृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युत्गृहबाट माथिल्लो तटीय क्षेत्रमापर्ने सोही गाउँपालिका– २ चेपुवा गाउँ नजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ । छोङराङसम्म कोशी राजमार्ग पुगेको छ । कोशी राजमार्गलाई छोडेर  आयोजनास्थलतर्फ जान आयोजनाले अरूण नदीमा ७० मिटर लम्बाइ भएको स्टिल आर्क पुल निर्माण गरिरहेको छ ।

भोटखोला गाउँपालिका–४ नामासे र सोही गाउँपालिका–२ रूकुमा जोड्ने २ किलोमिटर सुरूङ मार्ग निर्माणका लागि आवश्यक बुमर, जेसिबी, लोडर, रोबोटिक सटक्रिट, सटक्रिट मेसिन, कङक्रिट पम्प, जेनेरेटरलगायतका हेभी उपकरणहरू एवं निर्माण सामग्री हेलिकप्टरबाट ढुवानी भइरहेको प्राधिकरणले जनाएको छ । दुवै स्थानसम्म पुग्न सडक नभएकाले कोशी राजमार्ग हुँदै गोलाबजार पुर्‍याइएका उपकरणलाई खोलेर एमआई–१७ तथा अन्य साना हेलिकप्टरमार्फत ढुवानी गरिएको हो । हालसम्म तीन सय खेपभन्दा बढी ढुवानी भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक अपर अरूण हाइड्रो–इलेक्ट्रिक लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, कम्पनीका प्रबन्ध–सञ्चालक फडिन्द्रराज जोशीलगायतको टोलीले शनिबार र आइतबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीय बासिन्दासँग छलफल गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले पहुँच मार्ग निर्माणमा हालसम्म भएको प्रगतिबाट उत्साहित भएको र  यसबाट अपर अरूण आयोजना अगाडि बढेको सन्देश गएको बताउनुभयो । सुरूमा पहुँच मार्गको ट्र्याक खोल्न सकिएमा त्यसपछि निर्माण सामग्री ढुवानी गर्न सजिलो हुने भएकाले एक आपसमा समन्वय गरी सोही बमोजिम काम अगाडि बढाउन आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिए । 

कम्पनीका प्रबन्ध–सञ्चालक जोशीले निजी जग्गा अधिग्रहण भइसकेको र वन क्षेत्रको जग्गा उपभोग तथा रूख कटान स्वीकृति पाइसकेकाले पहुँच मार्ग निर्माण तीव्र गतिमा अगाडि बढाउन समस्या नरहेको बताए । 

पहुँच मार्ग निर्माणका लागि भारतीय कम्पनी गायत्री प्रोजेक्ट लिमिटेड र नेपालको कन्काई इन्टरनेशनल बिल्डर्सको संयुक्त उपक्रम (जेभी)बीच २०७९ फागुन ११ गते रू सात अर्ब ९१ करोडमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता २०८० वैशाख २८ गतेदेखि कार्यान्वयनमा आएको थियो । पहुँचमार्ग २०८२ को माघभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।