बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

अब विद्यालय तहको शिक्षा सीपयुक्त बनाउन जरूरी भइसक्योः उपप्रधानमन्त्री सिंह

नवलपरासी - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान अहिलेको आवश्यकता सिपयुक्त शिक्षा भएको बताएका छन् ।

शनिबार कावासोतीमा रहेको श्री शिव माध्यामिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सम्बोधन गर्दै उनले अब विद्यालयहरूले शैक्षिक सर्टिफिकेटसँगै सिपको सर्टिफिकेट पनि दिन सक्नुपर्ने बताएका हुन ।

गुणस्तरीय र सिपयुक्त शिक्षा दिन सके असल, सक्षम र स्वावलम्बी नागरिक उत्पादन हुने भन्दै अब त्यसतर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो । देशको दिशालाई सकारात्मक बाटोमा लैजान विशेषगरी माध्यामिक तहको शिक्षा मै बढी ध्यान दिन पनि उनले आग्रह गरेका छन् ।

‘शैक्षिक गुणस्तर सँगसँगै समयको माग बमोजिम सक्षम नागरिक बनाउनका लागि सिप सिकाउन लाग्यौं भने राम्रो हुन्छ,’उपप्रधानमन्त्री सिंहले भने, ‘विद्यालय तहको शिक्षा गुणस्तरीय बनाउन सक्यौं भने देशको दिशालाई सकारात्मक बाटोमा लैजान सक्छौं, अब यसमा सबैभन्दा बढी जोड दिनुपर्छ ।’ उनका अनुसार विद्यालयको अध्ययन  सकेर विद्यार्थी बाहिर जाँदा आफ्नो जीवन आफै चलाउन सक्ने सक्षम नागरिक उत्पादन भइसक्नु पर्ने उनको भनाइ छ ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले शनिवार नेपाली कांग्रेस  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कार्यसमितिले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागी भएका थिए ।  सो क्रममा उनले पार्टीलाई बलियो बनाउन पार्टी संगठन विधि र नियमअनुसार चलाउनु पर्नेमा जोड गरेका थिए ।

कांग्रेस पूर्वमहामन्त्री समेत रहिसकेका सिंहले पार्टीभित्र मतभेद भए पनि कांग्रेसको नीति , विचार, सिद्धान्तलाई जनतामा पुर्याउनका लागि कांग्रेसलाई केन्द्रमा राखेर सोच्न आग्रह गरेका थिए । आदर्शको कुरा गरेर नहुने भन्दै उनले संगठनभित्र समस्याको पहिचान गरि व्यवहारिक भएर समाधान खोज्नुपर्नेमा जोड दिए ।