बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

बीआरआईको विरोध गरेर काँग्रेस राष्ट्रवादी देखिन खोज्यो : क्रान्तिकारी कम्युनिष्ट पार्टी

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ)को विरोध गरेर काँग्रेस राष्ट्रवादी देशभक्त देखिन खोजेको आरोप लगाएका छन्।

मंसिर १३ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनपछि पत्रकार सम्मेलनमा बोल्दै पार्टी नेता सिपी गजुरेलले उक्त आरोप लगाएका हुन्।

आफ्नो व्यापार बढाउन चीनले बीआरआई अघि बढाएको बताउँदै बीआरआई राम्रो छ भनेर नारा लगाउँदै हामी हिँड्नु नपर्ने र त्यो त चीनले आफैँ गर्ने गजुरेलले स्पष्ट पारे।

गजुरेलले भने, ‘काँग्रेसले बडो राष्ट्रवादी देशभक्त देखिनका लागि बीआरआई बनाउन दिने तर ऋणमा होइन, सहायतामा दिनुपर्छ भनेर शर्त राखिदिएको छ। नाफा कमाउन चीनले त्यो काम गरिरहेको छ। काँग्रेसले ऋण लिनु हुँदैन, पूरै सहायतामा बनाउनुपर्छ भनिरहेको छ। त्यसमा विवाद निस्किएको छ। हामीले अहिले नै बीआरआईको विरोध गर्नुपर्ने अवस्था देखेका छैनौँ।’

बीआरआईमा नेपाललाई प्रत्यक्ष शोषण गर्ने कुनै चिज नभएको उल्लेख गर्दै नेपालले बीआरआईप्रति आपत्ति गर्न नहुनेमा उनले जोड दिए। साथै उनले बीआरआईबाट नेपालले भविष्यमा धेरै आर्थिक फाइदा लिनसक्ने भएकाले आफ्नो पार्टीले विरोध पनि नगर्ने स्पष्ट पारे।