मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

निर्माण व्यवसायीको एकसाताभित्र भुक्तानी भइसक्ने  - अर्थमन्त्री पौडेल

फाइल फाेटाे

काठमाडौँ - उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीको एकसाताभित्र भुक्तानी भइसक्ने बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजना गरेको विकास बजेटको परिचालन : सरकार र निजी क्षेत्रको भूमिका बिषयक छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले आइतबारबाटै निर्माण व्यवसायीको बक्यौता भुक्तानी सुरु हुने र ढिलोमा एकसाताभित्रै सबैको भुक्तानी भइसक्ने बताएका हुन् । भुक्तानीमा केही समस्या देखि आफू समक्ष आउन आग्रह गर्दै अर्थमन्त्री पौडेलले उचित निकास निकाल्ने प्रतिबद्धता जनाए । 

उनले निर्माणको क्षेत्रमा देखिएको समस्या एक अर्कालाई देखाएर समाधान नहुने उल्लेख गरे । अर्थमन्त्री पौडेलले संघीय सरकार अन्तर्गतको विकासे आयोजनाहरूको बजेटमा हेर्दा सन्तोषजनक नरहेको भन्दै बजेट निर्माणको प्रक्रियामा सुधार गर्नुपर्ने उल्लेख गरे । 

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले केही सिमेन्ट कम्पनीहरूले बोरामै दुई सय रुपैयाँ मूल्य वृद्धि गरेको र उद्योगीहरूले सिमेन्टमा कार्टेलिङ गरेको बताए । सिमेन्ट मूल्य वृद्धि गर्नुको कारणबारे सरकारले अध्यययन गर्नुपर्ने उनले बताए । 

उनले निर्माण व्यवसायीहरूको भुक्तानी समयमा नै हुन नसकेकाले ऋण तिर्न नसकेकाले समयमा नै भुक्तानी गर्न आग्रह गरे ।