बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

गाजाको मुख्य अस्पताल वरपर इजरायली हमलामा २९ जनाको मृत्यु

फाइल तस्बिर

बेत लाहिया, (प्यालेस्टिनी क्षेत्र)- गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार उत्तरी शहर बेत लाहियामा एउटा प्रमुख अस्पतालको वरपर इजरायली हमलामा २९ जनाको मृत्यु भएको बताएको छ ।

उत्तरी गाजाको अन्तिम कार्यरत स्वास्थ्य केन्द्रहरू मध्ये एक कमाल अदवान अस्पताल बिहान धेरै आक्रमणको चपेटामा परेको एजेन्सी र अस्पताल निर्देशकले बताए ।

“अस्पतालको उत्तरी र पश्चिमी भागमा तीव्र र प्रत्यक्ष गोलीबारीसँगै श्रृङ्खलाबद्ध हवाई आक्रमण भएको थियो, आक्रमणमा चार कर्मचारीको मृत्यु भयो”, अस्पताल निर्देशक होसम अबु सफिहले भने ।

नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने, “कमाल अदवान अस्पताल वरिपरि इजरायली गोलीबारीका कारण शुक्रबार बिहानदेखि कम्तीमा २९ जनाको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन् ।”

इजरायली सेनाले अझैसम्म हमलाहरूबारे एएफपीको टिप्पणी अनुरोधको जवाफ दिएको छैन ।

इजरायली सेनाले अस्पतालमा प्रवेश गरी बिरामीहरूलाई निष्कासन गरी केही प्यालेस्टिनीलाई पक्राउ गरेको बासलले बताए ।

अबु साफिहले पछिल्लो आक्रमणपछि अब अस्पतालमा कुनै शल्यचिकित्सक बाँकी नभएको बताए ।

बेत लाहिया विगत दुई महिनादेखि तीव्र इजरायली सैन्य अपरेशनको स्थल भएको छ र यो हालैका दिनहरूमा फेरि बढेको छ । बम विस्फोटका बीच हजारौँलाई भाग्न बाध्य पारेको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

इजरायली सेनाले करिब १४ महिनाअघि युद्ध सुरु भएदेखि कमाल अदवान अस्पतालमा पटक–पटक आक्रमण गरेको छ । अस्पतालले आफ्नो सघन उपचार एकाइका निर्देशक अहमद अल–काहलुतको पछिल्लो महिनाको हवाई आक्रमणमा मृत्यु भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ६० दिनमा पहिलोपटक आपत्कालीन चिकित्सा टोली अस्पतालमा पुगेको बताएको केही दिनपछि पछिल्लो आक्रमण भएको हो ।

टोलीका शल्यचिकित्सक डा फराडिना सुलिस्तियानीले गाजा सहरबाट उहाँको टोलीका सबै सात जना सदस्य बम विस्फोट हुँदा हिँडेर परिसरबाट निस्किएको बताए ।

प्यालेस्टिनी क्षेत्रहरूमा डब्लुएचओका प्रतिनिधि रिक पिपरकोर्नले जेनेभाबाट पत्रकारहरूलाई कमाल अदवानबारे ‘अत्यन्त चिन्ताजनक सूचना’ भएको बताए ।

उहाँले इजरायली सेना पहिलो पटक स्थानीय समयानुसार बिहान चार बजे अस्पताल बाहिर देखिएको बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय चिकित्सा टोलीले ‘बम विस्फोट र गोलीबारीले अस्पतालभित्र आतङ्कित भीडले गर्दा’ गाजावासी र टोलीले कुनै औपचारिक निष्कासन आदेश नभए पनि अस्पताल छोड्न बाध्य भएको बताएको छ ।

पिपरकोर्नले बिरामी र कर्मचारीसहित ‘पर्याप्त सङ्ख्यामा’ मानिसहरू अझै पनि ‘न्यूनतम सञ्चालन’ मा रहेका अस्पतालमा रहेको जानकारी दिनुभयो ।

अक्टोबरको सुरुमा गाजाको घेराबन्दी गरिएको उत्तरमा इजरायली अपरेसन सुरु भएदेखि कमल अदवानमा थोरै वा कुनै सहयोग नजिकिँदै गर्दा अस्पतालमा इन्धनसहित अधिकांश आपूर्ति समाप्त भएको थियो ।

इजरायली सेनाले सुदूर उत्तरमा आफ्नो कारबाहीको उद्देश्य हमास लडाकूहरूलाई त्यहाँ पुनः समूहबद्ध हुनबाट रोक्नु रहेको बताएको छ ।

अधिकार समूहहरूले त्यहाँ बाँकी रहेका सबैलाई खाली गर्ने वा भोकमरी गर्ने योजना पछ्याएको आरोप लगाएका छन् । यसलाई इजरायलले अस्वीकार गरेको छ ।

इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले बिहीबार सैन्य कारबाही जारी रहेसम्म विस्थापित प्यालेस्टिनीहरूलाई गाजाको उत्तरमा फर्कन अनुमति नदिने बताए । (एएफपी)