संरचनागत असमानताले किशोरीहरूको नेतृत्वलाई पारेको असरसम्बन्धी प्रतिवेदन सार्वजनिक
काठमाडौँ- प्लान इन्टरनेसनलको पछिल्लो अध्ययनले एसिया-प्रशान्त क्षेत्रका किशोरीहरूले लैङ्गिक असमानता र संरचनागत विभेदको सामना गर्नुपरेको देखाएको छ ।
बुधबार काठमाडौँमा एक कार्यक्रमका बीच प्लानले संरचनागत असमानताले किशोरीको नेतृत्वलाई पारेको असरसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै यस्तो देखाएको हो । यसले उनीहरूको नेतृत्व विकासमा गम्भीर अवरोध सिर्जना गरेको र पूर्ण सामर्थ्यमा पुग्नबाट रोकिरहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ ।
अध्ययन अनुसार विश्वको झन्डै ६० प्रतिशत युवा जनसंख्याको बसोबास रहेको यो क्षेत्रमा किशोरी र युवा महिलाप्रतिको विभेदकारी प्रवृत्ति र अभ्यासले जीवनका सबैजसो विषयमा उनीहरूको क्षमतालाई खुम्च्याएको पाइएको छ । प्लान इन्टरनेसनलको किशोरी नेतृत्वसम्बन्धी सूचकांक २०२४ किशोरी र युवा महिलाको नेतृत्व सामर्थ्यलाई असर पार्ने अवरोध र अवसरबारे विशिष्ट प्रकृतिका तथ्यहरू उजागर गरेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
एसिया प्रशान्त क्षेत्रका ३३ वटा देशबाट प्राप्त तथ्याङ्कका आधारमा प्रतिवेदनले निरन्तरको असमानताका कारण किशोरीको नेतृत्व विकासलाई अवरुद्ध भएको तथा लैङ्गिक विभेद र असमानताको मजबुत चक्र तोड्नका लागि अझै काम गर्नुपर्ने चिन्ताजनक अवस्था रहेको देखाएको छ ।
अध्ययनले एसियाका सिङ्गापुर, थाइल्यान्ड र फिलिपिन्सले किशोरीको शिक्षा, संरक्षण र कानुनी प्रबन्धमा सकारात्मक प्रगति गरेको देखाएको छ । तर, अफगानिस्तान, पाकिस्तान र ब्रुनाईमा शिक्षा र आर्थिक अवसरको अभावका कारण किशोरीको सामर्थ्य कमजोर बनेको छ ।
प्रशान्त क्षेत्रका अस्ट्रेलिया, न्युजिल्यान्ड र फिजीले राजनीतिक सहभागिता र शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेका छन् भने पपुवा न्युगिनी, नाउरा र सोलोमन आयरल्यान्ड नेतृत्वदायी प्रतिनिधित्व र स्वास्थ्य सेवामा पछि परेका छन् ।
प्लान इन्टरनेसनलका क्षेत्रीय निर्देशक भाग्यश्री देन्गलले जलवायु संकट, आर्थिक असमानता र राजनीतिक अस्थिरताका चुनौतीहरूसँग जुझिरहेको यस क्षेत्रमा किशोरीहरूको सशक्तिकरणले समुदाय र राष्ट्रको भविष्य सुनिश्चित गर्न मद्दत पुर्याउने बताइन् । साथै संस्थाको यो अध्ययनले एसिया प्रशान्त क्षेत्रभरि किशोरीको नेतृत्व अवसरमा कठिन खालका असमानतालाई प्रष्टाएको छ ।
प्रतिवेदनले किशोरीहरूको नेतृत्वका लागि सामाजिक–आर्थिक अवरोध हटाउन, समान पहुँच सुनिश्चित गर्न र लैङ्गिक समानताका लागि कानुनी संरचना बलियो बनाउनुपर्नेमा जोड दिएको छ । साथै, सुरक्षित वातावरण निर्माण गर्दै किशोरीहरूलाई आफ्ना धारणा व्यक्त गर्न स्वतन्त्रता दिनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।
अध्ययनका अनुसार विशेषगरी कम्बोडियाले स्वास्थ्य क्षेत्रमा गरेको उपलब्धिबाट सबैभन्दा महत्वपूर्ण सुधार गरेको पाइएको छ भने ब्रुनाईमा किशोरीको मुद्दालाई हेर्ने हो भने जलवायु परिवर्तन सम्बन्धी कार्यसम्पादन निकै ह्रास आएको छ । यी र यस्तै भिन्नताका कारण समग्र एसिया प्रशान्त क्षेत्रमा किशोरीको नेतृत्वमा अवरोधहरू खडा भएका छन् ।
प्रतिवेदनले सरकार र निजी क्षेत्रलाई किशोरीको नेतृत्व विकासका लागि सहकार्य गर्न आग्रह समेत गरेको छ । यस अध्ययनले किशोरीहरूको नेतृत्व क्षमता उजागर गर्न तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया