सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

नेपाललाई मनाउन ओली समूहका नेताहरू कोटेश्‍वरमा

काठमाडौँ : प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउने प्रयास जारी राखेका छन् । उनले आफू निकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेललाई नेपाल निवास कोटेश्‍वर पठाएका छन् । 

नेताहरू नेपाल निवास पुगेर नेपाललाई भेटेर फर्किएका छन् । नेता नेम्वाङले पार्टीबारे कुराकानी गर्न आफूहरू नेपाल निवास गएको बताए । 

बिहान कोटेश्‍वर पुगेका उनीहरूले नेपाललाई अध्यक्ष ओलीसँग भेटेर पार्टीमा मिलनबिन्दु खोज्‍न आग्रह गरेका छन् । उनीहरूको भेटेर कुरा गर्ने प्रस्तावमा नेता नेपाल सकारात्मक रहेको सहभागी एक नेताले जानकारी दिए । भेटमा नेपालसँगै नेता घनश्याम भुसाल पनि सहभागी थिए । 

ओलीले पार्टीमा एकता कायम गर्न नेपाल समूहका २३ पूर्वसांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताइरहेका छन् भने नेपालले हस्ताक्षर फिर्ता लिन नसक्ने बताएका छन् । 

शनिबार पार्टी केन्द्रीय समिति बैठकमा ओलीले सर्वोच्चमा दर्ता रिटको फैसला आउने बेलासम्म हस्ताक्षर फिर्ता नलिने पूर्वसांसद एमाले नरहने बताएका थिए ।