बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

न्याय परिषद् सदस्य नियुक्तिमा पारदर्शीता कायम हुनुपर्ने माग

फाइल फाेटाे

काठमाडौँ - न्याय परिषद् सदस्य नियुक्तिमा पारदर्शिता कायम हुनुपर्ने माग राख्दै स्वतन्त्र कानुन व्यवसायी मञ्चले नेपाल बार एसोसिएसनलाई ज्ञापन पत्र बुझाएको छ । बार एसोसिएसनका तर्फबाट न्यायपरिषद् सदस्य सिफारिस गर्दा सार्वजनिक सुनुवाई गर्नुपर्ने र पारदर्शिता कायम हुनुपर्ने माग राख्दै मञ्चले ज्ञापन पत्र बुझाएको हो । 

त्यस्तै मञ्चले इकाई बार एशोसिएसनको सदस्यता लिन कानुन व्यवसायीले सदस्यता फर्म बुझाउन सिफारिस गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने, जिल्ला तथा उच्च अदालत बार इकाईको सदस्यता लिँदा आवश्यक कागजात, योग्यता र दस्तुरमा एकरुपता कायम गर्नुपर्ने माग समेत राखेको छ । 

त्यस्तै निर्वाचनमा प्रयोग हुने मतपत्रमा प्यानल अनुसार सिरियल राख्ने व्यवस्था हटाई नाम अनुसार व्यवस्था गर्नुपर्ने समेत मञ्चले माग राखेको छ । मञ्चको ज्ञापन पत्र बुझ्दै बार अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्मा कुनै दाग नलागेको र सिनियर कानूनविद्लाई पठाउने कोशीस गरेको बताए । न्याय परिषद् सदस्यका विषयमा सुनुवाई गर्ने विषयमा बार सकारात्मक रहेको उनको भनाइ छ । 

मञ्चले आफ्ना मागका विषयमा मंसिर २६ गतेभित्र सुनुवाइ नभए पुष १ गतदेखि बारमा अनिश्चितकालीन धर्ना दिने, पुष ३ गते बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने र पुष ५ गते बारको मुल प्रवेशद्वारमा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।