‘क्रेडिट रेटिङ’ले लगानीका लागि नेपाल अनुकूल छ भन्ने देखायोः अर्थमन्त्री पौडेल

काठमाडौँ - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)बाट लगानीका लागि अनुकूल वातावरण देखिएको बताएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले प्रमुख दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम भएसँगै आर्थिक विकासमा सरकारको ध्यान केन्द्रित भएको बताएका हुन् ।
क्रेडिट रेटिङको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको उल्लेख गर्दै अर्थमन्त्रीले यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनाका साथै बाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गरे । “ वर्तमान सरकार गठन भएसँगै प्रमुख आर्थिक सूचकमा सुधार हुँदै गएको छ । मुलुकको बाह्य क्षेत्र सन्तुलन र वित्तीय क्षेत्रको अवस्था अनुकूल अवस्थामा छ । चालु वर्षभित्र आर्थिक वृद्धिमा निरन्तर सुधार हुने अनुमान गरिएको छ, जुन यहाँहरूले गर्नुभएका कतिपय प्रक्षेपणले पनि उल्लेख गरेको छ”, विकास साझेदारलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने ।
सरकारले पूर्वाधार विकास, मानव संसाधन विकास र निजी क्षेत्रका लागि लगानीको राम्रो वातावरण सिर्जना गर्न जोड दिएको बताउँदै अर्थमन्त्री पौडेलले भने, “चालु खाताको सन्तुलन, विद्युत् निर्यातमा उत्साहजनक वृद्धि, विप्रेषणमा वृद्धि र पर्यटकहरूको बढ्दो आगमन सङ्ख्या लगायतका कारण मुलुकको अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्दै गएको छ । तथापि, हाम्रो निर्यातलाई विविधीकरण गर्दै विस्तार गर्न आवश्यक छ, जसले दीर्घकालमा समेत बाह्य क्षेत्र सुदृढ बनाउन सकियोस् । पछिल्ला वर्षहरूमा पुँजीगत खर्च कम भएका कारण हाम्रो सार्वजनिक लगानीमा अपेक्षित सुधार हुन सकेको छैन् । यसका लागि आयोजनाको गुणस्तर सुधारमा प्राथमिकताका साथ काम गरिरहेका छौँ ।”
सार्वजनिक ऋणको भारबाट तत्काल आँत्तिहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले लामो समयसम्म दिगो बनाई राख्न ऋण परिचालनलाई पुनः प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए । नयाँ विकास सहायता परिचालन नीतिको मस्यौदा र सार्वजनिक क्षेत्रमा नवीन वित्त परिचालनसम्बन्धी नयाँ कानुन बनाउने प्रक्रिया अघि बढेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले रचनात्मक सुझाव दिन विकास साझेदारहरूसँग अनुरोध गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया