पार्टी नेतृत्वको सरकार ढलाउन विपक्षीका पक्षमा हस्ताक्षर गर्ने एमाले नेता हुन सक्दैनन् : ओली
काठमाडौँ : आफ्नो पार्टी अध्यक्ष नेतृत्वको सरकार गिराउन विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका निवर्तमान सांसदहरू पार्टीमा नरहने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । शुक्रबारबाट जारी पार्टी केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको फैसला नआउँदै हस्ताक्षर फिर्ता गर्नेलाई भने सोच्न सकिने बताएका छन् ।
‘सर्वोच्च अदालतको संवैधानिक इजलासबाट रिटको फैसला हुँदासम्म पार्टी नेतृत्वको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर कायम राख्ने पार्टीका नेता कार्यकर्ता होइनन्,’ ओलीलाई उध्रित गर्दै केन्द्रीय सदस्य विष्णु रिजालले इकागजसँग भने, 'अदालतको फैसला आउँदासम्म पनि हस्ताक्षर फिर्ता नगर्नेलाई पैसला आएको भोलिपल्ट बस्ने केन्द्रीय समिति बैठकले असाधारण निर्णय गर्नेछ ।'
एमालेका २३ सांसदले ओली नेतृत्वको सरकार गिराएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गरेका थिए । उनीहरूका बारेमा जवाफ दिँदै त्यस्तो बताएका हुन् ।
कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गर्दा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २३ जनाले हस्ताक्षर गरेका थिए । जति जना निवर्तमान सांसदले फिर्ता लिन्छन् उनीहरूको बारेमा ओलीले फरक निर्णय लिने बताएका एक सदस्यले जानकारी दिए ।
शुक्रबार मात्र अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको अल्टिमेटम दिएका छन् । आजमात्रै ओलीसँग भएको टेलिफोन सम्वादमा नेता नेपालले हस्ताक्षर फिर्ता लिन नसकिने बताएका थिए । नेपालले ओलीसँग एकतर्फी बोलाएको बैठक रोक्न २ जेठ २०७८ मा गठित कार्यदललाई सक्रिय बनाउने प्रस्ताव राखेका छन् ।
ओलीले धारणा राख्ने क्रममा पार्टीको विचार, संगठन, एकताको पक्षमा उभिने मात्रै एमाले नेता र कार्यकर्ता हुन सक्ने बताए । विपक्षी पार्टीका नेताको पक्षमा हस्ताक्षर गर्ने नेता नेपालको राजनीतिक हैसियतबारे पनि ओलीले बैठकमा टिप्पणी गर्न भ्याए ।
उनले भने, ‘प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ ? लुकेको कुरा होइन ।’ उनले नेता नेपाललाई इङ्कित गर्दै भने, 'विपक्षीले बजरंग झैं गमक्क पारे भन्दैमा मख्ख नपर्नु, स्वार्थ सकिएपछि पार्टी नै आवश्यक पर्छ । पार्टीबिना कुनै पनि नेता बन्न सक्दैन । यो बेलुनको हावा जस्तै हो ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया