बिहीबार १५ जेठ, २०८२
Thursday, May 29, 2025

पत्रकार मञ्चद्वारा महासंघ भक्तपुर शाखासहितका संघसंस्थालाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ : नेपाल पत्रकार मञ्‍चले पत्रकारको संघसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।  शुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर र दक्षिण एशियाली खेलकुदपत्रकार संघ र कार्टुनिष्ट क्लबलाई पीपीई, मास्क, सेनिटाइजरलगायतका सामग्री प्रदान गरेको हो । 

भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापतिले मञ्चले प्रदान गरेका सामग्रीले शाखाले सदस्यप्रति पूरा गर्नुपर्ने जिम्मेवारीमा सघाएको बताए । त्यसैगरी खेलकुद पत्रकार संघका महासचिव राधेश्याम दाहालले मञ्चले गरेको संस्थागत साझेदारिताबाट आफूहरू लाभान्वित भएको बताए । 

महामारीका समयमा पत्रकारहरूमा पर्ने आर्थिक, सामाजिक तथा भौतिक समस्या व्यवस्थापनमा साथ दिन प्रयास गरेको मञ्चका अध्यक्ष युवराज विद्रोहीको भनाइ छ । 
उनका अनुसार पत्रकारहरूको भौतिक सुरक्षाको पक्षमा केही न केही काम हुन थालेका छन् । तर, उनीहरूको पेशागत र सामाजिक सुरक्षाका विषयमा धेरै काम गर्न बाँकी देखिन्छ ।

मञ्चका उपाध्यक्ष एवं कोविड समन्वय समितिका संयोजक चन्द्रमणि भट्टराईले एशोसियट सदस्य संस्थाहरूका बीचमा साझेदारिता बढाउँदै गएको बताए । भक्तपुर शाखालाई सामाग्री वितरण गर्दा मञ्चका महासचिव विमल थापा, कार्यसमिति सदस्य जेन श्रेष्ठ, नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशका महासचिव रोयल आचार्यसहित पदाधिकारी थिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका पूर्व अध्यक्षहरु रमेश खड्का, अमर भुजु, विकल श्रेष्ठ, सचिव संजीप घिमिरे, कार्टुनिष्ट क्लवका अध्यक्ष बासु क्षितिज, सदस्यहरु देवेन्द्र थुम्केली, रवि मिश्रसहित दक्षिण एशियाली खेलकुद संघका महासचिव राधेश्याम दाहालसहितका पदाधिकारी थिए ।