आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

रत्नपार्कस्‍थित आकाशे पुलमुनि नेविसंघले गरेको भित्‍ते लेखन महानगरले मेटायो

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले रत्नपार्कस्‍थित आकाशे पुलमुनि नेविसंघले गरेको भित्‍तेलेखन मेटाएको छ । कोभिड महामारीमा अग्रपंक्तिमा खटिएकाहरूको सम्मानमा कलाकारले बनाएको चित्र मेटाइदिएपछि नेविसंघले त्यसको विरोधमा महानगरका ‘प्रमुख विद्यासुन्दर शाक्य मुर्दावाद’ भनेर लेखेको थियो।  

नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार २०५८ सालदेखि महानगरले भित्तामा लेख्न तथा पोस्टर टाँस्न नपाइने नीतिका आधारमा उक्त नारा मेटाइएको बताए ।  उनले कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाप्रति सम्मान भएको जनाउँदै प्रतिबन्धित स्थानमा त्यस्ता चित्र तथा नाराहरू कोर्न नहुने उनको भनाइ छ।
 
'कोभिड महामारीमा खटिएकालाई सम्मान आर्ट ग्यालरी वा अन्य माध्यमबाट गर्न सकिन्छ । प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन,’  उनले भने, 'हामीले नीतिअनुसार मेटाएका हौँ, कसैलाई लक्षित गरेर मेटाएको होइन ।' प्रहरी प्रमुख सापकोटाले राजनीतिक दल र भातृ संगठनलाई विगतदेखि नै पटकपटक भित्तामा नलेख्न आग्रह गरे पनि नमानेपछि अहिले 'एक्सन’मै उत्रिनु परेको बताए ।