चिनियाँ रक्षामन्त्रीको ८ घण्टे बसाइँमा के-के हुँदैछ छलफल, को-को भेट्दैछन् ?

काठमाडौं : चीनका रक्षामन्त्री वेइ फेङहेको आइतबार हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ ।
तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल-चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण मानिएको छ । नेपालबाट दुईपटक रक्षामन्त्रीको चीन भ्रमण भइसकेकाले बेइजिङबाट पनि रक्षामन्त्रीको भ्रमण हुनुलाई असामान्य मान्नुपर्दैन ।
एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार काठमाडौँ आइपुग्ने चिनियाँ रक्षामन्त्रीले ८ घण्टा काठमाडौँ बसाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्नेछन् ।
दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिँदै सुरक्षासम्बन्धी मामिलामा आश्वस्त हुन तथा एकआपसका चाहना र आवश्यकताबारे जानकारी लिन यो भ्रमणबाट मद्दत पुग्ने मात्र नभई सम्बन्धको नवीकरण एवं आत्मीयता प्रकट गर्ने उपयुक्त अवसर हुनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण पूरा भएको झण्डै एक वर्षपछि उच्चस्तरमा पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले नेपाललाई प्राथमिकतामा राखेको छ । अरनिको र भृकुटीले जोडेको युगौँ पुरानो नेपाल-चीन सम्बन्ध सन् १९५५ मा दुईमुलुकबीच कूटनीतिक सम्बन्ध कायम भएको थियो ।
एक चीन नीतिप्रति नेपालको दृढ वचनबद्धता, ताइवान चिनियाँ क्षेत्रको अविच्छिन्न भूभाग भएको मान्यता, अन्तर्राष्ट्रिय परिदृश्यमा चिन्ताको विषय बनेको तिब्बत मामिला, नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने र तिब्बती शरणार्थीको निगरानी, सिमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिन सुदृढ सुरक्षा व्यवस्थाका निम्ति आपसी समन्वयलगायत सहकार्यका विविध विषयमा नेपालको उच्च राजनीतिक नेतृत्वसँग विचार विमर्श हुनेछ ।
कानून कार्यान्वयन गर्ने निकायबीच सूचना आदानप्रदान, सैन्य क्षमता अभिवृद्धि, नेपाली सेनालाई प्रशिक्षण, जनमुक्ति सेना र नेपाली सेनाबीचको संयुक्त अभ्यासको निरन्तरता, जनमुक्ति सेनाका अधिकृतको नेपालमा तालिम, द्विपक्षीय सुरक्षा सहयोगअन्तर्गत अघिल्लो जेठमा घोषित १५ करोड आरएमबी बराबरको सैन्य सहयोग ‘प्याकेज’, कोरोनाका कारण स्थगन भएका सुरक्षा क्षेत्रमा सहयोग अभिवृद्धि गर्न दुवै देशका सुरक्षा अधिकारीबीच भ्रमणको आदानप्रदान तथा अन्य कार्यक्रमसहित विपत्ति रोकथाम तथा न्यूनीकरणबारे रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल हुने विश्वास गरिएको छ । (रासस)

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

प्रतिक्रिया