पञ्चेबाजा संरक्षणमा कला केन्द्र सक्रिय

नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । दाङको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो ।
पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा पञ्चेबाजा बजाउन केन्द्रका प्रतिनिधि सहभागी हुन थालेका केन्द्रका अध्यक्ष दयाराम थापाले बताए । परम्परागत महत्व बोकेको पञ्चेबाजा संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तामा सीप र कला हस्तान्तरण गर्ने उद्देश्यले बाजा संरक्षण अभियानमा जुटेको उनको भनाइ छ ।
जिल्लामा आयोजना हुने प्रायः विवाह, व्रतबन्ध, चौरासी, विभिन्न सभा समारोहमा बाजा बजाउने जनशक्ति अभाव हुन थालेपछि केन्द्रको सक्रियतामा सीप सिकेर अभियान सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले जानकारी दिए । यसले युवामा चासो बढ्नुका साथै कला नयाँ पुस्तामा हस्तान्तरण समेत हुन थालेको उनले बताए ।
लोप हुन लागेको परम्परा बोकेको पञ्चेबाजा संरक्षणमा स्थानीय युवा पनि सक्रियताका साथ जुटेको देख्दा खुसी लागेको ६३ वर्षीय थापाको भनाइ छ । बुढेसकालमा अरु गर्न नसके पनि आफूले जानेको सीप युवालाई सिकाउँदै बाजा संरक्षण, परम्परा जगेर्नाका साथै आयआर्जनमा पनि सहयोग पुगेको उनको भनाइ छ ।
गढवा–६ बालापुर निवासी अध्यक्ष थापाले विसं २०७६ देखि स्थापना भएको पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले अहिले पनि सक्रियताका साथ अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
पञ्चेबाजा बजाउनकै लागि केन्द्रका प्रतिनिधि दाङसहित काठमाडौं, बर्दिया, चितवनलगायत अन्य जिल्लाहरूमा पनि जाने गरेको केन्द्रका अध्यक्ष थापाले अनुभव सुनाए ।
गढवा–६ का ओमप्रसाद आचार्यले बुढापाकाले सञ्चालन गरेको पञ्चेबाजा संरक्षण अभियानमा युवापुस्ताले पनि सहयोग गर्दै आएको बताए । समूहमार्फत काम गर्दै आएकाले यसले पुस्तान्तरण हुँदै गएको उनको बुझाइ छ । ‘कहिलेकाहीँ पञ्चेबाजाको माग धेरै ठाउँबाट एकै पटक आउने गरेको भन्दै आचार्यले पहिलोपटक हेर्न आउनेले ब्राह्मणले बाजा बजाएको देखेर अनौठो मान्नुहुन्छ’, उनले भने ।
केन्द्रका सदस्य चूडामणि खनालले बाजा बजाएबापत समूहले जिल्लाभित्र एक पटकको २५ हजार र जिल्ला बाहिर जाँदा ३० हजार लिने गरेको जानकारी दिए । उक्त रकममध्ये पाँच हजार रुपैयाँ कोषमा जम्मा गर्ने र बाँकी बाजा बजाउने समूहका सदस्यले पारिश्रमिकस्वरूप लिने गरेको उनको भनाइ छ ।

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया