सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी अभियानको खाँचो
सडक सवारी पीडितका सम्झनाको लागि विश्व दिवसको अवसरमा काठमाडौंमा आइतवार एक अन्तरक्रियाको आयोजना गरियो । कार्यक्रमका वक्ताहरुले सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी अभियानको खाँचो भएको भन्दै सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
पद्मकन्या क्याम्पसले आयोजना गरेको सो कार्यक्रममा सडक सुरक्षा विज्ञ भगवती सेढाईंले सडक सुरक्षा संवेदनशील विषय भए पनि प्राथमिकतामा नपर्नु दुखको कुरा भएको बताइन् । सडक सुरक्षा र दुर्घटनाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले विश्वभरि बर्षेनी ११ लाख भन्दा बढी मानिसले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको जानकारी दिइन् ।
नेपाल लगायत अल्पविकसित र विकासशील देशहरुमा सडक दुर्घटनाको समस्या झनै विकराल रहेकाले दुर्घटना कम गर्नेतर्फ संस्थागत पहल हुनुपर्ने उनको भनाइ थियो । सेढाईंका अनुसार नेपालमा मात्रै सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ हजारको हाराहारीमा छ । कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक हुमानन्द खनालले सडक दुर्घटना कम गर्न ट्राफिक नियमको पालनामा जोड दिए ।
पूर्ण रुपमा दुर्घटना रोक्न नसकेपनि सबैले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना न्यूनीकरण हुने र विद्यालयको पाठ्यक्रममै सडक सुरक्षाको बिषयलाई समेट्नुपर्ने उनको भनाइ थियो । काठमाडौं महानगरपालिका यातायात तथा सडक सुरक्षा विभागका सल्लाहकार जगतमान श्रेष्ठले दुर्घटना कम गर्न सडक सुरक्षा र ट्राफिक नियमको बारेमा संवेदनशील रहेको र आवश्यक सहकार्यका लागि तयार रहेको बताए ।
पद्मकन्या क्याम्पसका सहायक प्रमुख बिमला नेपाले सडक दुर्घटना भयावह रहेको भन्दै आफूहरुले त्यसको न्यूनीकरणका लागि सम्वन्धित निकायहरुसंग सहकार्य गर्न चाहेको बताइन् ।
कार्यक्रममा सडक दुर्घटना पीडित परिवारका सदस्यहरु हेरम्बराज पन्त, एन्लिा न्यौपाने लगायतको पनि उपस्थिति थियो । उनीहरुले यो विषयलाई साझा मुद्दाका रुपमा अघि बढाउन सुझाव दिएका थिए । हरेक बर्ष नोभेम्बर महिनाको तेश्रो आइतवार सडक सवारी पीडितका संझनाका लागि विश्व दिवसको रुपमा मनाइने गरिन्छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया