बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

जलवायु अभियन्ताहरूद्वारा काठमाडौंसहित १६ सहरमा प्रदर्शन

काठमाडौं- नेपालमा सक्रिय जलवायु अभियन्ताहरू सडकमा उत्रिएका छन्। नागरिक समाज,पिछडिएको वर्ग,अपांगता भएका व्यक्ति, साना किसान, आदिवासी समूह र स्थानीय समुदायहरूको ठूलो संख्याले शनिबार सडकमा प्रदर्शन गरेको हो।

नेपालका विभिन्न १६ स्थानहरूमा जलवायु वित्तको माग गर्दै सडकमा प्रदर्शन गरिएको थियो।

यी प्रदर्शनहरू बाकु, अजरबैजानमा जारी कोप-२९ को समर्थनमा गरिएको बताइएको छ। यो आन्दोलनले वैश्विक उत्तर (ग्लोबल नर्थ)का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ)प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ।

काठमाडौंमा भृकुटीमण्डपबाट सुरू भएको र्‍याली रत्‍नपार्कस्थित शान्ति बाटिकामा गएर विभिन्न झाँकीसहित प्रदर्शनपछि समापन भएको थियो।

चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ, हेटौंडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगञ्जमा र्‍याली निकालिएको थियो।