शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

सरकार फेरिएकै कारण देश बिग्रेको होइन : माधव नेपाल

फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मूल समस्या सरकारको अस्थिरता नभएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन्।

उनले आफूहरू ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभई काम गरेर देखाएको जिकिर गरे। उनले नौ महिनाको सरकारले देशमा तरंग पैदा गरेको बताए। उनले आफ्नो गाउँ, आफैँ बनाउँदेखि नौ सको अभियान, वृद्धभत्ता प्रदान, ६० हजार सुकुम्वासी परिवारलाई जग्गा बाँड्ने लगायतका उदाहरणीय काम गरेर देखाएको बताए।

उनले काम गर्नेका लागि नौ महिना नै काफी हुने बताए। मध्यपहाडी राजमार्ग र तराईको हुलाकी राजमार्ग आफू नेतृत्वको सरकारले बनाउन सुरु गरेको दाबी गरे।

उनले भने, ‘हाम्रो देशको समस्याको मुल कारण के हो, त्यहाँबाट जानुपर्छ। मुल कारण भनेको सरकारको अस्थिरता होइन। ९ महिना हामी सरकारमा हुँदाखेरी (नौ महिना) उदाहरण पेश गरेका छौँ। गफ होइन। काम गरेर देखाएका छौँ, नौ महिना भित्र। सारा देशमा तरंग पैदा गरिदियौँ। आफ्नो गाउँ, आफैँ बनाउँ भन्नेदेखि लिएर, नौ सको अभियानदेखि लिएर, वृद्ध भत्ताको कुरादेखि लिएर। गर्नेले छोटो समयमा गर्छ।'

अध्यक्ष नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरूले नै गरेको दाबी गरे। मुलुकमा परिवर्तन पनि आफूहरूले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरूले नै ल्याएको बताए। सो समयमा देशमा गणतन्त्र नआउने कुरा गर्नेहरू पार्टीभित्रै रहेको भन्दै उनीहरुलाई आफूहरूले चासो नदिएको बताए।

राजतन्त्रका विरुद्धमा जान कांग्रेसले खुट्टा कमाएको र अरू पार्टीले पनि हिम्मत नगर्दा आफूहरूले नै आन्दोलन गरेर हटाएको बताए। उनले परिवर्तनलाई साकार बनाउने काममा आफूहरू सफल भएको जिकिर गरे।

अध्यक्ष नेपालले अहिले नेपालको राजनीतिको समस्या भ्रष्टाचार रहेको बताए। भ्रष्टाचार अन्त्य नगरेसम्म मन्त्रीको संख्या घटाएर केही नहुने बताए।