बाँकेमा कोदोखेतीको सफल परीक्षण

जानकी (बाँके)- बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल परीक्षण गरेको हो । बैजनाथको चिसापानीमा गत साउनमा रोपिएको कोदो अहिले लहलह झुलेको छ ।
पहाड र हिमालको चिसो मौसममा मात्रै उत्पादन हुने कोदोको गर्मी हुने तराईमा सफल खेती गरिएको हो । “हामी दैलेखबाट बसाइ सरी बाँके आएको झण्डै दुई दशक भयो, अहिलेसम्म यहाँ कोदोखेती भएको देखेको थिइन”, बाँके सैनिकका रामबहादुर बुढाले भने, “गाभर भ्यालीमा कोदो फलेको देखेपछि मलाई पनि खेती गर्न मन लागेको छ ।”
सामुदायिक जिन बैंक सञ्जालका संयोजक पुरमल बस्नेतका अनुसार डेढ कट्ठाभन्दा बढी जग्गा भाडामा लिएर कोदोका विभिन्न प्रजातिको बिउ परीक्षणका लागि रोपिएको थियो । उनले भने, “एक/दुई प्रजातिबाहेकका प्रजातिको सफल खेती भएको छ ।”उहाँले मङ्सिरको पहिलो सातातिर कोदो काट्ने योजना रहेको बताए ।
उनले भने, “कोदोखेतीको सफल परीक्षणले हामीलाई उत्साहित बनाएको छ । आगामी दिनमा तराईमा पनि कोदो उत्पादन गर्न सकिने सम्भावना देखिएको छ ।”
बस्नेतका अनुसार पाँच वटा प्रजाति जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका कोदोका जात छन् ।
“नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का प्राविधिकसँगको समन्वयमा परीक्षण गरिएको हो, उहाँहरु मङ्सिर पहिलो साता आउनुहुनेछ, उहाँहरु आएपछि टिप्ने योजना बनाएका छौँ”, बस्नेतले भने । रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण उत्पादन गरिएको उनको भनाइ छ ।
विसं २०७८ मा चिसापानीको गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरिएको थियो । जिन बैङ्कका सचिवसमेत रहनुभएका घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले गाभर भ्यालीमा कोदोखेतीको सम्भावना देखिएकाले परीक्षण गरिएको र त्यो सफल भएको बताए । जिन बैङ्कले तराईमा कोदोसँगै विभिन्न रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ । रासस
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_8Lp8rXWsN7_cz9nrsxcwmm9vpq0anlsnuudsactlqnxets7fxd8e905830pkzpduzeb4gi2.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_oPinXWnFCx_w1sskux783tbdjnbqkeb1y6eksvfatokmnhtqkblrrk2qso8cuxmxu4zklnz.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

प्रतिक्रिया