आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

टेलिकमको पाइपबाट पानी बगेपछि...

चितवनको भरतपुर महानगरपालिकाको कार्यालयअगाडि सडकको बीच भागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरू मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुन सक्ने अनुमान गरिएको छ ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले विछ्याएको पाइपबाट पानी निस्किएको बताइन् । सुरुमा जमिनबाट मूल फुटेको अनुमान गरिए भए पनि खनेर हेर्दा टेलिकमको पाइपबाट पानी आएको देखिएको उनको भनाइ छ ।

'वरपर कतै मूल फुटेर वा खानेपानीको पाइप फुटेर टेलिकमको पाइपमा छिरेको हुन सक्छ । नत्र तार हाल्न विछ्याइएको पाइपमा यत्रो पानी कसरी आयो होला,' उनले भनिन् । टेलिकमको पाइपमा कहाँबाट पानी छिर्‍यो भन्ने पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको उनले जानकारी दिइन् । खानेपानी बोर्डलाई पत्राचार गरिएको र खानेपानी, टेलिकम, डिभिजन सडक र निर्माण कम्पनीका प्रतिनिधि बसेर निकास खोजी भइरहेको उनले बताइन् ।

नारायणगढदेखि गोन्द्राङसम्म ६ लेनको सडक विस्तार भइरहेको छ । सो काम इण्डो सगुन निर्माण कम्पनीले गरिरहेको छ । कम्पनीका इन्जिनियर सुनिल ढुङ्गानाले पानी निस्किनुको कारण पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको बताए । उनले भने, 'कहाँबाट पानी छिर्‍यो, कति सडक भत्काउने, यकिन गर्न सकेका छैनौँ । सडक डिभिजनलाई भनेका छौँ ।'

भरतपुरको सवारी चाप हुने मुख्य क्षेत्रमा सडक भत्किएपछि तत्काल निर्माण गर्न भरतपुर महानगरपालिकाले डिभिजन सडक कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले भनिन्, 'हामीले दसैँ अघि नै तत्काल मर्मत गर्न अनुरोध गरेका छौँ, प्राविधिक कारणले काममा ढिलाइ भएको छ ।'